कविताको अर्को घुम्ति

आस्था कोपिला, जो पूर्वकी एक शक्तिसाली काव्यिक हस्ताक्षर हुन् । मोफसलमै बसेर लामो समयदेखि कविता लेख्दै आइरहेकी उनी कवितामा समभावना बोकेकी कविमा पर्छिन् । मोफसलमै बसेर आफ्नो लेखकीय क्षमताका बलमा भाषा, साहित्यको केन्द्र भनिने काठमाडौंमाथि हस्तक्षेप बढाइरहेकी यी कविको आगमन निकै रमाइलो छ ।
फुटकर रुपमा कविता लेखेर लगभग आधा दशकको समय गुजारिसकेकी आस्था कविताका क्षेत्रमा आफ्नो स्पष्ट पहिचान बनाउने क्रममा छिन् । भोजपुरजस्तो ग्रामीण भेगमा बसेर लेखिएका कविताका बलले केन्द्रमा स्पष्ट उपस्थिती देखाउन निकै मेहनत र पसिना चाहिन्छ । अतः कोपिला राम्रा कविता लेख्न सक्छिन् भन्ने कुराको साक्ष्य हो, उनको पहिलो कवितासंग्रह ‘एउटा यायावरको पदचिह्न’ । संरचनाका हिसाबले लामा–छोटा ४३ थान कविता कृतिभित्र समेटिएका छन् । संख्याका हिसाबले धेरै कविता राम्रा छन् । केही औसत कविता छन् ।

आस्था कोपिलाका कविताहरुले आजको नेपाली समाजकै विविध रङ र प्रकाशलाई टिप्न खोजेका छन् । कवि कविता लेख्न सामाजिक परिवेश र मानवीय जीवनको चौघेरा नाघेर बाहिर जानु परेको छैन । आस्थाका यी कविताहरु समाज र आम मानिसका भोगाइ र अनुवभहरु नै हुन् । जीवन र जगत्मा रहेका दुःख र पीडाहरुलाई निकालेर त्यस ठाउँमा अरु नयाँ–नयाँ चिज भर्न खोज्नु उनका कविताको पहिलो दायित्व हो । उनका कविताले मानवीय जीवन र जगत्लाई आनन्द र सुखामा रुपान्तरण गर्ने मूल उदेश्य लिएका छन् । आम कविको कविधर्म पनि यही नै हो ।
प्रस्तुतीलाई कोमलता, सजीवता विशिष्टतामा ढाल्न सक्ने खुबी कविमा छ । विम्ब, मिथकहरु चिन्न र चयन गर्न सक्ने कविको काव्यिक सौन्दर्य रहरलाग्दो छ । त्यसमा पनि आञ्चलिक र साँस्कृतिक विम्बहरु निर्माण गर्ने र उपयोग गर्ने उनको काव्यिक कौशलता रहरलाग्दो छ । कविताक्रमको पहिलो क्रममा रहेको ‘सम्बोधनः मुग्लानीलाई’ शीर्षकको कवितामा कविको काव्यिक प्रस्तुती निकै सुरम्य लाग्छ ।
तिमीले दुखेको मुटु पट्याएर
एक हूल अक्षरहरुसँगै
बन्द खामभित्र पठाएछौ
अक्षर त मान्छेजस्तै न हुन्
पस्यो मेरो मनको दैलो उघारेर
अनि निस्कियो आँखाको किनारा हुँदै ।
***
संसारका सयौं भाषाका हज्जारौं हजार कविहरुका लागि अत्यन्त प्रिय विषय रहेको देश र देशप्रेम आस्थाका कवितामा पनि पटक–पटक झल्किन्छ । देश र कविलाई आस्थाले सबैभन्दा नजिक राखेर हेरेकी छिन् । आस्था भन्छिन्, ‘कवि बिनाको देश हुँदैन ।’ देश बिनाको कवि पनि हुँदैन । ‘म र देश’ शीर्षकको कविता कृतिभित्रका उत्कृष्ट कवितामध्ये एक हो ।
जब, म कलम लिएर कविता लेख्न बसेकी हुन्छु
त्यसबेला तिमीले–
‘कविता प्यारो कि देश’ भनेर सोधे
म रफ्तारमा दौडिरहेको कलम रोकेर भन्नेछु–
‘मूर्ख ! यो कस्तो प्रश्न ?
देश बिनाको पनि कहीँ कवि हुन्छ ?’
***
गरिब, सर्वहारा र श्रमिक वर्गका लागि इतिहास लाटो छ । कानुन लाटो छ, बोल्दैन त्यो । इतिहासका वास्तविक निर्माताहरु पहिल्यैदेखि ओझेल पर्दै आइरहेका छन् । बरु, भौतिक शक्ति र पहुँच भएकाहरुले इतिहास बङ्ग्याउँदै आइरहेका छन् । इतिहाससँग रिसाएको एउटा सामान्य मानिसको भोगाइले आजको सर्वाल्टन युगको प्रतिनिधित्व गर्छ, आस्थाका कवितामा ।
इतिहास बोल्दैन
श्रमिकको निम्ति
इतिहास लाटो छ
मगजहीन छ
अभिलेखहीन, कोरा कागज छ ।
***
Cover-auta yayabarko padchinhaआस्थाले प्रेम र रतिरागात्मक भावनाको नेराघेरामा उभिएर रचेका कविता पनि छन्, कृतिमा । यस्ता कविताहरुमा कवि कतै प्रेमीसँग गुनासो गर्दै गरेकी भेटिन्छिन् त कतै आम मानिसको जीवन र प्रेमसँग गाँसिएर आउने संवेदनापूर्ण अनुभूतिको अभिव्यक्ति गरिरहेकी भेटिन्छिन् ।
परदेशिएका एक हूल क¥याङकुरुङ
फर्किने आशमा बस्नू
म त्यही देउरालीको वरको फेदमा
तिमीलाई भेट्ने छु
जहाँबाट एकजोर चखेवा
छुट्टिएका थिए ।
(साक्षी)
***
अचेल औसत बढी कविताहरु विरोध, आक्रोस, कुण्ठा, पीडा र अनास्थापूर्ण ढङ्गबाट लेखिन्छन् । कविहरुले कवितामा आसा, सपना र अपेक्षाहरु विस्तारै सकिँदै गएको दुःखद् चित्रमात्रै उतार्छन् । जसले गर्दा कविताहरु आम पाठक वर्गका लागि निराशा, कुण्ठका श्रोतमात्रै बन्ने खतरा हुन्छ । तर, जीवन यति उज्यालो र सकारात्मक देख्ने दृष्टिकोण राख्ने आस्थाका कविता उज्यालोको खोजिमा छन् । खुसी र मुस्कानहरुको व्यग्र पर्खाइमा पनि छन् ।
आस्था सोख पूरा गर्न कविता लेख्ने कवि होइनन् । शब्दकोष पल्टाएर भारी–भरकम शब्द कोच्ने कवि पनि होइनन् उनी । अपितु, सरल प्रस्तुती र बुझिने विम्बाट विचार बोल्न चाहान्छिन् । भोका–नाङ्गा, श्रमजीवी जनता, राष्ट्रिय स्वधिनता, मुक्तिको उत्कट चाहाना अनि समाज उनका कविताका मूल विषयवस्तु हुन् । अर्काे कुरा, यिनमा कविताका माध्यमबाट सामाजिक भूमिका र उत्तरदायित्व दुवै पूरा गर्नुपर्ने जिम्मेवारी छ । कवि त्यही भूमिकामा छिन् ।
अहिले कविताका नाममा अनेकथरी दिएर पाठकलाई गिदी चाट्ने र कविताका इमान्दार पाठकलाई निर्मम ढङ्गबाट दमन गर्ने हाम्रो काव्यपरम्परालाई निरन्तरता दिएको आरोप आस्थालाई लाग्नेछैन । त्यसबाट कवि आरोपमुक्त छिन् । यी गम्भीर कविताहरु त्यसका सवुद–प्रमाण हुन् । पहिलो कृतिबाटै यति सुकिला र बलिया कविता दिने यी कविको उपस्थितीले विस्तारै आफ्नो काव्यिक दायरा बढाउँदै लैजाने छ । आज जनजीवन र समाजसँग प्रत्यक्ष संवाद गर्न सक्ने कविताहरुको अभाव खड्किरहेका बेला आस्थाका कविताहरुले त्यो अभावलाई टार्न धेरथोर योगदान पु¥याएका छन् ।
केही–केही कविताहरुमा यथार्थको सूक्ष्म विश्लेषण, विषयवस्तुको उठान र प्रस्तुतीमा आस्थाको ध्यान जान आवश्यक छ । अर्काे कुरा, केही कविताले सुदृढ कलात्मक प्रकटीकरणको माग गरेका छन् । केही कवितामा अष्पष्टता र विरोधाभास पनि महसुस हुन्छ । यी कमजोरी कम गर्न सकिन्छन् । गहिरो कविले अध्ययन र निरन्तर साधनाको बलमा क्रमिक ढंगले परिष्कारका साथ उन्नयन हुँदै जान आवश्यक छ । <>

@ नागरिक-पूर्वेली, २०७१ मंसिर ५ ।
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1997-nagarik-21-nov-2014/2-nagarik.html

You can leave a response, or trackback from your own site.

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;