कवि, कविता र देश

विश्वप्रसिद्ध कवि शेक्सपियरले एकपल्ट कविताको सन्दर्भमा भनेका थिए– ‘एउटा महान कवि एउटा महान चित्रकार पनि हो, जसले हरबखत देश पेन्टिङ गर्छ ।’
मलाई लागिरहन्छ– कवि संसारको सबैभन्दा सुन्दर मान्छे हो, कविताहरु संसारका सबैभन्दा सुन्दर वस्तुहरु हुन् । अनि यस्तो पनि लाग्छ– कविता मान्छेको स्रोत हो । जीवन सिक्नेहरु कविताबाटै सिक्छन् । युग चिन्नेहरु पनि कवितामा आउँछन् । सत्यलाई हेर्नेहरु पनि कवितासम्म आईपुग्छन् एक पटक । इतिहास जसरी लेखिए पनि इतिहासले एक पटक कविता हेर्छ । उसले एक पटक कविलाई पनि हेर्छ । र, सलाम गर्छ । मान्छेहरुले जीवन जसरी भोगे पनि एकचोटी कवितामा आउ“छन् । यदि कोही जीवनमा एकपल्ट पनि कवितासम्म आइनपुगी मर्छ भने त्यो एउटा दुर्भाग्य हुन्छ ।
सिधा हिसाबमा हेर्दा कविता अभिव्यक्तिको एउटा माध्यममात्रै हो । कवितालाई कुनै पनि सार्वभौम परिभाषामा बाँध्न र राख्न सकिँदैन । र, आजसम्म संसारमा कसैले पनि कविताको सर्वव्यापी परिभाषा स्थापित गराउन सकेको छैन । कवितालाई जसरी बुझे पनि हुन्छ । जसरी स्वीकारे पनि हुन्छ । यसको सौन्दर्यतालाई जसरी हेरे पनि हुन्छ । तर, हामीले कवितालाई हेर्नु आवश्यक हुन्छ । कविलाई पनि हेर्नु आवश्यक हुन्छ । म ठान्छु– कवि र कवितालाई नहेरी, नपढी जीवनको लय बुझिँदैन । जीवनको मूल्य पनि बुझिँदैन । सृष्टि र त्यसको उपार्जन पनि थाहा हुँदैन ।


देश भूगोलको मात्रै हुँदैन । नक्साको मात्रै हुँदैन । सिमानाले छुट्याएर मात्रै पनि देश हुँदैन । यहाँको अधिकारसम्पन्न एउटा नागरिक आफैँमा देश हो । यहाँको कुनै कवि आफैँमा यौटा स्वतन्त्र देश हो ।  यहाँको हिमाल पनि देश हो । यहाँ फुल्ने फूल, साँझमा अस्ताएर हरेक बिहान फर्कि आउने घाम, युगौंदेखि बगिरहेको नदी, झोलाभरि अक्षरहरु बोकेर दिनहुँ पाठशाला धाइरहेका नानीहरु, विश्वविद्यायलमा यो देशको सुदूर भविष्यको किताब पढाइरहेका प्राध्यापकहरु सबै–सबै देश हुन् । अतः एउटा स्वतन्त्र देशमा कुनै स्वतन्त्र कविले लेखेको एउटा कविता नदेखिने सबैभन्दा ठूलो देश हुन्छ ।
एउटा असल कविले जहिल्यै पनि आफ्नै देश लेख्छ । देशकै कविता लेख्छ । देशकै गीत गाउँछ । जीवनकै पक्षमा बोल्छ । माटोप्रतिको श्रद्धा र प्रेम उसका कवितामा हरबखत आइरहन्छ । कुनै राष्ट्रका सपना–विपना, आसा–निरासा, युद्धमा मारिएका उन्नत सन्तान, बेपत्ता पारिएका नागरिकहरु, भोका गाउँ र नांगा बस्तीहरु, समयको पहिरोमुनि पुरिएको यो देशको मुस्कान सबै–सबै कवितामा बारम्बार आइरहने ती पात्रहरु यही देशका तस्बिरहरु हुन् । यी सबै कुरा एउटा कविका लागि अनेकथरी रङहरु हुन् । ती नै रङहरुलाई कविले जसरी मन लाग्छ, त्यसरी नै कवितामा भर्छ ।
मलाई लाग्छ– कुनै कवि आफ्नो देशदेखि हिँडेर आफ्नै देशसम्म पुग्छ । जति हिँडे पनि ऊ देश नाघेर जाँदैन । बरु, विश्व पढ्छ, कवितामार्फत् । विश्व डुल्छ, कविताकै राजमार्ग हिँडेर । समय बुझ्छ, कविताकै चेतनाले । अनि, इतिहास हेर्छ, कविताकै अनुहार पढेर । कविको सबैभन्दा नजिक उभिएर हेर्दा कुनै असल कविलाई पाइला–पाइलामा नदेखिने देश बोकेर हिँड्ने एउटा फकीर हो भन्न मन लाग्छ मलाई  । जसको मुटुमा हरबखत देश हुन्छ । देशकै चिन्ता हुन्छ । त्यो चिन्तालाई देशप्रेम भने पनि भयो । अथवा, आमाप्रतिको धर्म भने पनि भयो । कवि र कवितालाई जसरी ग्रहण गर्दा आनन्द प्राप्त हुन्छ, त्यसरी नै ग्रहण गरे भयो ।
जब कुनै कविका महान कविता पढ्न थाल्छु, म सोच्ने गर्छु– यहा“ सयजना मानिस आए पनि अथवा एकहजार जना मानिस आए पनि केही हु“दैन तर एउटा मात्रै असल कवि आयो भने धेरैथोक आए जस्तो गरेर आउँदो रहेछ । ऊ देशमा चेतनाको नयाँ उज्यालो छर्दै आउँछ । परिवर्तनको लाली छ्याप्दै आउँछ । विशाल परिवर्तनको संकेत दिँदै आउँछ । शेक्सपियर, वर्डस्वर्थ, लार्किन, देवकोटा, रिमाल र भूपीहरु पढेर मैले यति बुझेको छु । अनि बुझेको छु– संसारमा मानिस कवि बनेर आउने सबैभन्दा उत्तम र सरल तरिका रहेछ ।
article-imagesकविहरु आफ्ना सजातीय सपनाहरु लिएर मानिससम्म आउने हो । देशसम्म आउने हो । कविले कसैलाई गलत सन्देश पु¥याउनु छैन । कसैलाई अलमलमा पार्नु छैन । कसैलाई प्रताडीत गर्नु पनि छैन । उसलाई त संसार फेर्नु छ । समयको पूरानो भोटो फेर्नु छ । अनि, सत्यको दुबो रोपेर सत्यकै पक्षमा कविता लेख्नु छ । न्यायको झण्डामुनि बसेर न्यायकै पक्षमा कविता लेख्नु छ । यही नै कविको पहिलो धर्म हुन्छ । अतः जतिबेला संसार र मानिसलाई केही भन्नुपर्ने हुन्छ, त्यतिबेला कवि आउने हो । कवि आएर त्यसै जा“दैन । ऊ आएपछि केही भनेर जान्छ । धेरै कुरा छोडेर जान्छ ।
कवि मानवीय जीवनका दुःख र कष्टहरुलाई आनन्द र सुखमा रुपान्तरण गर्न चाहान्छ ।  कवि मानिसलाई दुःख र पीडा थप्न आउने हैन।  बरु, संसारलाई दुःखबाट झिक्दै नया“–नया“ पार्दै जान कवि मानिसलाई खोज्दै मानिससम्म आउने हो । यसर्थ, मानिसले कविलाई भेट्नु आवश्यक हुन्छ । उसका कवितासम्म पुग्नु झन् आवश्यक हुन्छ । मानिसले स्वर्ग खोज्छ भने कवितामा खोज्नु आवश्यक छ । कवितामा स्वर्ग भेट्टाइन्छ । कविमा पनि स्वर्ग भेट्टाइन्छ । मानिसले आफ्नो स्वर्ग कवितामा राखे पनि हुन्छ । कविमा राखे पनि हुन्छ ।
कुनै कविता बुझ्न पहिला कविलाई बुझ्न आवश्यक हुन्छ । कवि नबुझी कविता बुझिँदैन । बुझे पनि त्यो पूर्ण हुन सक्दैन । कविलाई बुझ्नु भनेको कवितासँगको उसको संगत बुझ्नु हो । आम कविको जिन्दगीसँग कविता कसरी भिजेको हुन्छ भनेर बुझ्नु पनि हो । एउटा उन्नत कविताका लागि एउटा कविले के–के कुराहरु त्यागेको हुन्छ र कविले समयको कस्तो मोडमा उभिएर कविता लेख्छ भनेर बुझ्नु पनि हो । जब कवि बुझिन्छ, तबमात्रै कविता र त्यसको अन्तिम भाषा बुझिन्छ । जब कविलाई बुझिन्छ तब मात्रै बुझिन्छ– देश ।
कविताहरु उज्यालो बोकेर आउँछन् । चेतनाको तीव्रतामा आएका त्यस्ता कविताहरुले आम मानिसमा युगचेत प्रवाह गरिदिन्छन् एकहिसाबले हेर्दा त्यस्ता कविताहरु समाजले बाँचिरहेको आफ्नो समयको वास्तविक अभिव्यक्ति पनि हो । जुन कविता जुनबेला आउँछ, त्यो त्यसबेलाको आम मान्छेको जीवन र त्यसँग निरन्तर सरोकार राख्ने कुराहरुको सम्बोधन पनि हो । एउटा असल कविबाट जन्मिएका हरेक कविता अन्यायको विरुद्ध न्याय, कुरुपताको विरुद्ध सभ्यता, अँध्यारोको विरुद्ध उज्यालो र पराधिनताको विरुद्ध स्वधिनताको निम्ति हुन्छन् । युगका त्यस्ता इमान्दार र महान कविताहरुले आम मानिस र देशलाई अग्रगमनतर्फ लैजान्छ । प्रगतितर्फ डो¥याउँछ ।
देशमा जतिजति कविताका सिँढीहरु थपिँदै जान्छन्, देश त्यतित्यति सुन्दर हुँदै गएको देखिन्छ । देशमा जतिजति कविहरु उभिँदै जान्छन्, देश त्यतित्यति सभ्य र समृद्ध हुँदै गएको देखिन्छ । होमर, शेक्सपियर, मिल्टन, रोबर्ट, लु–सुन पढ्दा, उनीहरुको देश पढ्दा मनमा एउटै कुरा आएर उभिदिन्छ– कविबिनाको देश हुँदैन रहेछ ।

@ नागरिक-पूर्वेली, २०७१ जेठ ३०, शुक्रबार ।
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1821-nagarik-13-june-2014/2-nagarik.html

You can leave a response, or trackback from your own site.

One Response to “कवि, कविता र देश”

  1. हाङपाल says:

    म कवि हुँ भन्नेहरुले पढ्नै पर्ने निबन्ध!

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;