गजलमा समय–चेतना

नेपाली साहित्यमा महिला लेखकहरु संख्यात्मक हिसाबमा अत्यन्तै थोरै थिए, हिजोअस्तिसम्म । पछिल्लो दशकमा महिलाहरुको उपस्थिती उल्लेख्य रुपमा बढिहरेको छ । लेखनमा सामाथ्र्य र सम्भावना दुवै भएका महिलाहरु आइरहेका छन् । यो समय नेपाली साहित्यमा महिला लेखकहरुका लागि महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ पनि हो । यसरी आएका धेरै महिला लेखकहरु आख्यानमा छन् । केही कविता लेखिरहेका छन् । बाँकी अरु केही लेखिरहेका छन् । जो, जहाँ रहेर जे लेखे पनि त्यसको लाभ नेपाली भाषा, साहित्यलाई मिल्ने हो ।
गजल लेखनमा एउटा सक्रिय नाम हो– भावना पाठक । जो फुटकर रुपमा पहिल्यैदेखि गजल साधनामा लागेकी हुन् । चितवनमा बसेर राम्रा गजलहरु लेख्दै आइरहेकी भावना सिर्जनाका हिसाबले परिपक्व गजलकार हुन् । फुटकर रुपमा गजल लेखिरहेकी उनै भावनाको हालसालै ‘सफर’ शीर्षकको गजलसंग्रह प्रकाशित भएको छ । ‘सफर’मा जम्माजम्मी ५४ वटा सरदर आयामका गजलहरु सङ्गृहीत छन् । भावनाका गजलहरुमा विषयगत विविधता प्रशस्त छ । उनका गजलहरुले आम मानिसको जनजीवन, समकालिन समाज, देशकाल अनि हामीले बाँचिरहेको समयलाई सम्बोधन गरेका छन् ।


एउटा असल सर्जकले जहिल्यै पनि असल रचना गर्छ । त्यस्तो लेखक समयसँग सचेत हुन्छ । आम जनजीवन बुझेको हुन्छ । अतः त्यस्तो लेखक लेखनप्रति सधैँ उत्तरदायी र इमान्दार हुन्छ । त्यस्ता कटिवद्ध सर्जकहरुबाट नै असल रचनाको अपेक्षा राख्न सकिन्छ । त्यस्तैले समय लेख्छन् । समाज लेख्छन् । जीवन लेख्छन् । परन्तु, भावना त्यही ठाउँबाट उदाएकी गजलकार हुन् । यी गजलकारले आफ्ना भोगाइ, अनुभवलाई माध्यम बनाएर समाज लेखेकी छिन् । काल, परिस्थिती लेखेकी छिन् । भावनाका गजलहरु पढिसक्दा लेखकीय दृष्टिकोणबाट उनलाई एउटा प्रतिवद्ध गजलकारका रुपमा ठम्याउन सकिन्छ ।
अहिले कुण्ठा, आक्रोस, विरह–वेदनाका गजलहरु बढि लेखिन्छन् । सकारात्मक सोच राख्ने र आशा जगाउने गजलहरु अत्यन्तै कम लेखिन्छन् । गजलमा धोका, पिर, आँसु, घाउ, संवेदना, विरह, आक्रोस बारम्बार आइरहने कुरा हुन् । यिनै गजलका लेखनका साझा र प्राथमिक विषयवस्तुजस्तै बन्दै आइरहेका छन् । योभन्दा पर गएर, माथि उठेर लेखिएका गजलहरु कमै भेटिन्छन् । अतः भावनाका गजलहरुमा पनि त्यही महसुस हुन्छ । उनका अधिकांश गजलहरु कुण्ठा, निरासाका माझाबाट आएका छन् । कतै–कतै उत्साहप्रद, आस्थावान् र जीवनप्रतिको प्रेम जागृत गर्ने गम्भीरखाले गजलहरु पनि भेटिन्छन् ।
Cover-Safar‘सफर’को गजलक्रमअनुसार पहिलो क्रममा परेको गजल त्यस्तै गजल हो । जुन तीब्र निरासा र हीनताबोधबाट सिर्जित छ । तर, शक्ति र उत्कृष्टताका हिसाबले उक्त गजल उच्च कोटीको गजल हो । गजलकारको भावना पीडाका केन्द्रबाट अभिव्यक्त भए पनि अभिव्यक्तिमा शसक्तता छ । प्रस्तुतीमा सुन्दरता छ । सरलता छ । भावमा गम्भीरता छ ।
हुँदैन किन अक्सर सोचेजसस्तो
जिन्दगीको हरेक सफर सोचेजस्तो ।
आँगनमा जुन खुसी छोडी गएथेँ
म फर्किदा थिएन घर सोचेजस्तो ।
भावनाका धेरै गजलहरु प्रेमभावबाट आएका छन् । तीमध्ये औसत गजलहरु विरह–वेदना र पीडाको भाव बोल्छन् । त्यस्ता गजल कलात्मक ढंगबाट आएका छन् । प्रेममा जसरी सुख आउँछन्, त्यसरी नै घातहरु पनि हुन्छन् र तिनले असामान्य चोट पार्ने कुरा लेख्छिन् गजलकार । प्रेममा विश्वास कम र धोका बढी देख्ने भावना गजलमै प्रश्न गर्छिन्:
छातीमा छुरा चलाई तिमीले
के पायौ दिल जलाई तिमीले ?
भावना जति प्रणयका गजलमा जति सहज रुपमा जम्न सक्छिन्, त्यति प्रभावकारी रुपमा समसामयिक विषयवस्तुका गजलमा जम्न सक्छिन् । गजलमा मुद्धा समाउने र तार्किक वहस गर्न सक्ने भावनाका देशकाल र परिस्थितीलाई छोएर लेखिएका गजलहरुमा आक्रामक अभिव्यक्ति पाइन्छ:
बेरोजगार फगत बेरोजगार देशको समस्या
सरकार आफ्नै देशको जवान बेचिरहेछ ।
देशमा कहालीलाग्दो बेरोजागरी छ । यहाँको विश्वविद्यालय शिक्षित युवा जन्माउने कारखाना बन्दै आइरहेको छ । स्वदेशमा न्यूनतम रोजगारको अवसर सिर्जना हुन नसक्दा देशको सबैभन्दा सक्षम र उर्जाशील युवा शक्ति दिनहुँ हजारौंको संख्यामा श्रम बजारको खोजिमा विदेसिन बाध्य छन् । देशमा बालबालिका र वृद्धहरुमात्रै छन् । देश युवाविहीन हुँदै गइरहेको छ । यस्तो बेला देशले विकासको गति समाउन सकेको छैन भन्दै गजलकारले राज्यव्यवस्थाप्रति तीब्र असन्तुष्टि राखेकी छिन् ।
कानुन उस्तै छ, अदालत उस्तै छ
कठै ! निर्दाेषीको हालत उस्तै छ ।
देश गणतान्त्रिक भइसकेको छ । अहिले धेरै कुरा सहज भएका छन् । तैपनि, गजलकार देशमा कानुनी राज देख्दिनन् । उनका अनुसार न्यायको झण्डा अझै पनि उठ्न सकेको छैन । यो अवस्थामा ठूला माकुराहरु कानुनको जालमा पर्दैनन् । परिहाले पनि तिनीहरु जालो ताडेर उम्कन्छन् । जालमा पर्ने त सानै माकुरा हनु । यो परिवेशमा गजलकारलृ कानुन र न्यायलयप्रति उस्तै अविशवास प्रकट गर्छिन् । अहिलेको वस्तुस्थिती हेर्दा गजलकारको यो विमती भोगाइको यथार्थ धरातलबाट आएको मान्न सकिन्छ ।
भावनासँग गजलमा भर्न सकिने सौन्दर्यलाई प्रयोग गर्न सकिने खुबी छ । उनीसँग काल्पनिक शक्ति पनि निकै सबल पाइन्छ । खास गरी काफिय र रदीफको छनौटमा गजलकार निकै सचेत र चतुर देखिन्छन् । जसले गजललाई निकै ठूलो गुन लगाएका छन् । त्यसैगरी भावनाको अर्काे सबल पक्ष हो– भाषाको लोभलाग्दो प्रयोग । भाषाको कोमलता र सरलतासँग सहज रुपमै खेल्न सक्ने भावनाको यो खुबीले पनि गजलहरु पठनीय बनेका छन् । भावनाका गजलहरुले पाठकको मन र मस्तिष्क दुवैलाई झङ्कृत पार्न सामथ्र्य राख्छन् ।
अन्त्यमा, भावनाका औसत गजलहरु राम्रा छन् । केही अरुभन्दा कमजोर देखिन्छन् । विषयवस्तुको प्रस्तुतीमा मेलो नपाउँदा कतिपय ठाउँहरुमा आउनैपर्ने सुन्दरता, लालित्य आउन सकेको छैन । त्यो ठाउँमा मेहनत नपुगेको देखिन्छ । कतै–कतै विचार पक्ष हावी हुँदा कला पक्ष कमजोर हुन पुगेको छ । यस्ता कमजोरीहरुलाई निरन्तर साधना र अध्ययनका बलले घटाउँदै लैजान सकिन्छ । त्यसका लागि गजलकारमा थप प्रतिवद्धता चाहिन्छ ।

कृति: सफर
विधा: गजल
प्रकाशक: पैरवी बुक हाउस
मूल्य रु: १२५/-
***

@ नागरिक-पश्चिमेली, २०७१ असोज ३१ ।
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1960-nagarik-17-oct-2014/2-nagarik.html

You can leave a response, or trackback from your own site.

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;