पूर्वका प्रतिनिधि कविता

पूर्वको साहित्यिक माटोमा एउटा उर्जाशील नाम हो– इन्द्रसुर बेल्टारे । उनी सिर्जनामा लागेका एक निष्ठावान् र कर्मठ स्रष्टा त हुँदै हुन्, यसदेखि बाहेक भाषा, साहित्यको उत्थान तथा विकासमा संस्थागत रुपमा जुटेका एक कर्ता पनि हुन् । बेल्टारे लामो समयदेखि मोफसल भनिने भोजपुरमा रहेर साधनामा क्रियाशील छन् । उनका खण्डकाव्य, कविता र गजल गरी दुई एकल र चार संयुक्त कृतिहरु प्रकाशित छन् । २०६२ सालदेखि उनकै सम्पादनमा ‘परिचय’ साहित्यिक पत्रिका पनि प्रकाशन हुँदै आइरहेको छ । उनकै नेतृत्वमा ‘परिचय साहित्य कला प्रतिष्ठान’ आफ्ना गतिविधिहरु गरिरहेको छ । कर्मका हिसाबले हेर्दा दुई दशकदेखि पूर्वको साहित्यिक पत्रकारिताको क्षेत्रमा क्रियाशील छन्, इन्द्रसुर बेल्टारे ।
पछिल्लो चोटी उनैको सम्पादनमा ‘पूर्वका कविता’ शीर्षकको संकलित कवितासंग्रह प्रकाशित भएको छ, ‘परिचय साहित्य कला प्रतिष्ठान’मार्फत् । कृतिमा पूर्वका १ सय ७ जना कविहरुका फुटकर कविताहरु समेटिएको छ । प्रत्येक कविका एक–एक वटा कविता समेटिएका छन् । सिधा हिसाबमा हेर्दा प्रस्तुत कृति पूर्वका प्रतिनिधी कविहरुको सामूहिक संग्रह हो । अर्कातर्फ, यो कृति स्थानीय÷क्षेत्रीय तहबाट आएको पूर्वको वर्तमान भाषा, साहित्यको खास गरी कविता विधाको एउटा सग्लो कर्म हो पनि हो । यसको अर्थ र महत्व यही ठाउँमा छ ।


कुनै एउटा कवि, सर्जकका एकल रचनाहरुलाई संगृहीगत गरेर पुस्ताकार दिन कठिन काम हुँदैन, जति कठिन धेरै ठाउँमा छरिएका धेरै सर्जकहरुका सिर्जनाहरुलाई एकमुष्ठ रुपमा समेटेर कृति प्रकाशन गर्नुमा हुन्छ । यसरी हेर्दा प्रस्तुत कृति ‘पूर्वका कविता’ छाप्नु एउटा कठिन काम नै हो । यो एउटा सामूहिक कार्य हो । सामूहिक काम गर्न सजिलो र अप्ठेरो दुवै हुन्छ । तर, यस्तोखाले काममा चाहीँ सहजताभन्दा बढी जटिलता हुन्छ । व्यक्तिगत प्रयास र व्यवस्थापनमा कुनै साहित्यिक पुस्तक, ग्रन्थ प्रकाशनका निम्ति आर्थिक स्रोत जुटाउनु त्यसै पनि मुस्किल काम हुन्छ । त्योभन्दा बढी धेरै स्रष्टाहरु बीचमा सम्पर्क, समन्वय बनाउँदा, लामो समय लगाएर रचनाहरु जुटाउँदा, रचनाका निम्ति बारम्बार ताकेता गर्दा, स्रष्टाहरुलाई पटक–पटक भेट्दा, बारम्बार माग्दामात्रै रचना जुट्छन् ।
त्यसरी जुटेका रचनाहरुलाई जिम्मेवारी र परिपक्वताका साथ सम्पादन गरिकन यसरी महत्वपूर्ण कृति प्रकाशन गर्नुपर्ने चुनौतिपूर्ण कार्यलाई सम्भव तुल्याउन बेल्टारेले कति महेनत, कति दुःख र कति तपस्या गरे, त्यो उनैलाई थाहा होला । तर, उनले जे काम गरे, त्यो पूर्वको साहित्य विशेषगरी कविताको लागि अर्थपूर्ण काम गरे । प्रस्तुत कृतिलाई पूर्वाञ्चलको कविताको क्षेत्रमा एउटा महत्वपूर्ण कृतिका रुपमा लिन सकिन्छ । अतः यावत् दुःखहरु उठाएर इन्द्रसुर बेल्टारेले जति सुन्दर काम गरेका छन्, भोलि त्यसको सही लाभ यहाँको भाषा, साहित्यले जरुर लिनेछ । अनि, त्यसको मूल्यांकन निश्चय नै हुनेछ ।
‘पूर्वका कविता’ संकलित कवितासंग्रह हो । तसर्थ, यसलाई कुनै एक कविको काव्यिक प्रवृत्ति, कुनै काव्यिक कौशलता र उत्कृष्टताका आधारमा हेर्न र समीक्षा गर्न मिल्दैन । बरु, यसलाई एक यात्राका अनेक पाइलाहरुका रुपमा लिन सकिन्छ । यहाँ एउटै कृतिमा सैयौं कविहरुका कविताहरु छन् । एउटा लघु कृतिमा यति धेरै कविका कविताहरुलाई समेटेर तयार पारिएको ग्रन्थलाई सोही रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । यस कृतिमा पूर्वका स्थापित र पूराना कविदेखि नयाँ पुस्ताका, लेख्न खोजिरहेका कविहरुका पनि कविता परेकाले पूर्वको वर्तमान काव्यिक धरालत, वस्तुस्थितीबारे अध्ययन गर्न पनि यो कृति महत्वपूर्ण हुनेछ । त्यसैगरी, यहीँबाट पूर्वाञ्चलको काव्यिक भविष्यको अनुहार पनि पढ्न सकिन्छ ।
Cover- Purbaka Kavita‘पूर्वका कविता’ सयभन्दा बढी कविहरुका कविता छन् । जहाँ, अघिल्लो पुस्ताका कवि जसराज किराँती, वीरेन्द्र राईहरु देखि लिएर नयाँ पुस्ताका सिजन नयन श्रेष्ठ र उता डायस्पोरामा बसेर रेमिट्यान्स रङका कविताहरु लेखिरहेका हरि पराजुलीसम्मका कविताहरु समेटिएका छन् । यस हिसाबले हेर्दा जो–जो, जहाँ–जहाँ रहे पनि भौगोलिक धरातलका हिसाबले पूर्वका कवि, स्रष्टाहरुलाई समेट्न खोजेको देखिन्छ । यद्यपी, यो पूर्वका कविहरुको समग्र रुप भने होइन । धेरै गर्न खोजिए पनि पुस्तक अपूर्ण नै छ । नयाँ पुस्तामा भर्खर कविता लेखनमा देखिँदै गरेका कविहरुका कविता समेट्दै गर्दा छुट्नै नहुने केही कविहरु छुट्न पुगेका छन् । जसको अभाव कृतिमा खड्किएकै छ । हुन सक्छ, यो काम गर्न चाहेर अथवा गर्न खोज्दाखोज्दै पनि पनि पूरा हुन नसकेको हो ।
यद्यपी, माथि नै भनियो कि यी प्रतिनिधी कविहरुका प्रतिनिधी कविताहरु मात्रै हुन् । यसलाई त्यही रुपमा बुझ्न आवश्यक छ ।  सामान्य हिसाबले हेर्दा पनि प्रस्तुत कृति पूर्वाञ्चलको कविताको एउटा महत्वपूर्ण दस्तावेज चाहीँ बन्छ र पूर्ण चाहीँ बन्दैन । जे, जति गर्न खोजियो त्यो धेरै हो, पर्याप्त होइन । भोलिका दिनमा यो अपेक्षा कहीँबाट पूरा हुने नै छ ।

@ नागरिक-पूर्वेली, २०७१ कार्तिक २१ ।
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1981-nagarik-07-nov-2014/2-nagarik.html

You can leave a response, or trackback from your own site.

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;