यथार्थपरक लेखन

साहित्य लेखनको मूलधारमा अहिले उपन्यासकै दबदबा छ । तुलानात्मक हिसाबमा अन्य विधामा पातलोगरी कलम चलिरहेका छन् । धेरै लेखकहरु उपन्यासमै आकर्षित छन् । तर, त्यो लहरभन्दा अलि पर रहेर कथा लेखनमा सशक्त उपस्थिती देखाइरहेकी लेखक हुन्– विद्या सापकोटा । फुटकर रुपमा कथामा आफ्नो दर्बिलो उपस्थिती जनाउँदै आएकी विद्याले अहिले आफ्ना नयाँ–पूराना कथाहरुको संग्रह ‘नीलो तृष्णा’ लिएर लेखनमा छाएकी छिन् । जसमा सरदर आयामका १५ थान कथाहरु समेटिएका छन् ।
‘नीलो तृष्णा’ सामाजिक धरातलबाट आएको पुस्तक हो । कथामा समाविष्ट अधिकांश कथाहरु सामाजिक धरातलबाट उठेका छन् । मानवीय जीवनसँग प्रत्यक्ष र परोक्ष रुपमा सरोकार राख्ने स–साना पक्ष र कुरालाई पनि कथाका माध्यमबाट बाहिर ल्याउन कथाकारले उत्तम प्रयत्न गरेकी छिन् । अहिलेको समयमा यो रुपमा आएका विद्याका यी कथाहरु यस समयका प्रतिनिधी कथा हुन् । अर्काे शब्दमा भन्ने हो भने ‘नीलो तृष्णा’ समकालिन नेपाली कथाको क्षेत्रमा देखिएको महत्वपूर्ण उपस्थिती हो ।

विषयवस्तुको विविधता पाइने विद्याका कथाहरुमा पूर्वको सुन्दर नगरी धरानदेखि पश्चिम तराई र भित्री मधेससम्मका विषयले कथामा स्पेस पाएका छन् । खास गरी कथामा पाइने विषयवस्तुको उठान, कथावस्तुको प्रकटीकरण, पात्र र प्रवृत्तिहरुको सामानजश्यता, पात्रले सम्बन्धित धरालत (क्षेत्र) र विषयवस्तुसँग राख्ने सरोकार जस्ता पक्षमा पाइने आकर्षक संयोजनले कथालाई पढ्दै जाँदा निकै रोमान्चक बनाउँछन् । सम्बन्धित क्षेत्र, विषयवस्तुसँग जानकार पाठकका लागि ती कथाहरु अझै गम्भीर कथा पनि बन्न सक्छन् ।
कथामा कथाकार विषयवस्तु र पात्रको चयन र तिनीहरुको संयोजनपूर्ण प्रस्तुतीप्रति निकै सचेत देखिन्छिन् । उनले कथामा कथावस्तुको चयनभन्दा पनि पात्रहरुको चयनलाई प्राथमिकतामा राखेकी छिन् । तीनैको पेरिफेरिमा पात्र समेटिएको सामाजिक परिवेश, त्यसका विविध अन्र्तवस्तु, पात्रले भोग्नु परेका तमाम् समस्या र अभावहरुलाई सुन्दर ढंगले कथामा पस्किएकी छिन् । त्यसैगरी, कथामा उभिएका पात्रहरु कथित् आधुनिक समाज र त्यसको आधुनिकीकरणका नाममा झेल्नु परेका अन्यखाले समस्याहरुको पनि पहिचान गर्ने कोसिस गरेकी छिन् । कथाका माध्यमबाट अहिलेको समाज पढ्न सजिलो हुन्छ ।
कथामा परिधि फराकिलो हुन्छ । कथामा विषयवस्तु, पात्र, चरित्र र तीसँग जोडिएका अन्य अन्र्तवस्तुलाई सन्तुलनमा राख्न सकिएन भने कथा भद्या हुन पुग्छन् । पठन जटिल हुन पुग्छ । कथाले भन्न खोजिएको कुरा बुझ्न अलमल गर्नुपर्छ । तर, विद्याका कथामा त्यस्तो महसुस हुँदैन । यो कथामा पाइने सबल पक्ष हो । विद्याका कथाहरुमा पात्र चयन र तिनीहरुको प्रस्तुती उपयुक्त छ । पात्र, चरित्र र विषयवस्तु बीचको तालमेल सन्तुलित छ । कथाको उठान र उपसंहारमा कथाकारको राम्रो कुशलता देखिन्छ ।
Cover_Nilo Trishnaकथाहरुको स्पष्ट देखिने एउटा स्वभाव हो– आधुनिक समाज र बदलिँदो जीवनशैली र त्यसले निर्माण गरिरहेका अनेकन पक्षहरुमाथिको निर्मम प्रहार र समाज शुद्धिकरणको अथक प्रयास । कथाकार सापकोटाको यो कथालेखन र कथाचरित्र बारम्बार आइरहन्छ, कथाहरुमा । कतिपय कथाहरुमा उनले विद्रोहात्मक प्रस्तुती दिएका छिन् भने केहीकेही कथाहरुमा सामाजिक सद्भाव, सहिष्णुता र आपसी मिलानलाई महत्व दिँदै आफ्ना धारणा राखेकी छिन् । ती कुराले समग्र कृतिको खाँटी गुदी र त्यसले ग्रहण गरेको निजी वजन छाम्न र त्यसले पार्ने प्रभावबारे भन्न सकिन्छ ।
कथा संग्रहको नाम दिइएको ‘नीलो तृष्णा’ शीर्षकको कथा एउटा महत्वपूर्ण कथा हो । जसले वर्तमान नेपाली समाजको चित्रण गरेको छ । खास गरी उक्त कथाले सामन्ती समाजिक संरचनामा आधारित पितृसत्तात्मक मनोविज्ञानबाट हाम्रो नेपाली समाज र त्यसले लैंगिक रुपमा नाराीमाथि गर्दै आइरहेको विभेदबारे पैरवी गरेको छ । मूलतः आर्थिक, राजनीतिक र साँस्कृतिक दृष्टिले आज समान्तवाद निकै कमजोर भइसक्दा पनि समाजबाट यस्ता महिलामाथि अनेक रुपमा हुने शोषण, विभेदहरु हट्न नसकेकोप्रति कथाकारको गम्भीर चिन्ता पाइन्छ । समाजले सभ्याताको धेरै लामो दूरी पार गरिेसके पनि परिवर्तनका नाममा बढ्दै गएका अनेकन आधुनकिताहरुले महिलाहरुलाई समाजमा उसैगरी उपभोगका साधनमात्रै ठान्ने विकृत मानसिकताको विकासमा सहयोग पु¥याउँदै आइरहेको अवस्थाप्रति उनको कडा विद्रोह पाइन्छ ।
‘नीलो तृष्णा’बाहेक ‘डायरी’ शीर्षकको कथाले समाजका पाइने पुरुष मनोवज्ञानको राम्रो चिरफार गरेको छ । नारी कथाकार भएर पनि पुरुष पात्र र तिनीहरुको चारित्रिक प्रवृत्तिबारे राम्रो वहस गर्न सक्ने कथाकोरको लेखन शक्ति त्यहाँनेर थाहा हुन्छ । अर्कातर्फ, समाजमा अझै पनि बाँचीराखेको लैंगिक विभेदका विषयमा स्पष्टै कथा लेख्न सक्ने यी कथाकारले उसैगरी नारीका पक्षमा पनि केही थान उत्कृष्ट कथा दिएकी छिन् । ‘स्वास्नीमान्छे’, ‘सौता’, ‘मुक्तिबन्धन’जस्ता कथाले नारी भावनालाई समेटका छन् । र, ती कथाहरुले समाजका विभिन्न संस्कार, परम्परा र मूल्य–माण्यताका नाममा विभेदमा पर्दै आइरहेका महिलाहरुलाई समानताका लागि ‘लड्नुपर्छ’ भन्ने पाठ सिकाएका छन् । जसले नारी जागरण र शसक्तिकरणका निम्ति जोडबल गरेको छ ।
प्रेमका विषयका कथाकारले दुई थान कथा दिएकी छिन् । पहिलो, ‘निष्कर्ष’ शर्षकको कथा । जसमा कथाकारले प्रेम समबन्ध असफल हुनुको अन्तिम निचोड आपसमा प्रेम नै नहुनु भन्ने हुन सक्दैन भन्ने तर्क अघि सारेकी छिन्, जुन निकै गम्भीर लाग्छ । कतिपय अवस्थामा प्रगाढ प्रेम र आत्मीयता हुँदाहुँदै पनि प्राविधिक कारणले सम्बन्धहरु तलमाथि हुन सक्छन्, त्यस्तो अवस्थामा प्रेम थिएन भनेर बुझ्नुहुन्न भन्दै कथाकारले आम जीवनमा देखिने गरेका समस्याहरुलाई सकारात्मक ढंगले बुझ्न र ग्रहण गर्न सुझाएकी छिन् । त्यसैगरी, प्रेममै आधारित ‘अदृश्य’ शीर्षकको कथाले नयाँ पुस्ताको आधुनिक प्रेमको स्पष्ट चित्र उतारेको छ । प्रेम सम्बन्ध तोडिए पनि जीवनलाई त्यसकै पीडाले दुःखपूर्ण बनाउनु गलत भएको त्यो कुरालाई सही ढंगले बुभ्न आधुनिक पुस्तालाई आग्रह गरेकी छिन् ।
विद्या सापकोटका कथा पठनकका हिसाबले राम्रा छन् । गम्भीर छन् । विषयवस्ुतको गभ्भीरताबोधले कथालाई पठनीय बनाएका छन् । यद्यपी, केहीकेही कथामा भने अनावश्यक अतिरञ्जना छ । कथावर्णन अनियन्त्रित छ , त्यसको महसुस ‘स्वास्नीमान्छे’ शीर्षकको कथामा हुन्छ । यीदेखि बाहेक, कथाहरुमा भाषा सम्पादनमा भने त्रुटिरु फेला परिरहन्छन्, जसले आगामी दिनमा थप मेहनतको माग गर्दछ । माथि चर्चा गरिएका कमजोरीहरु निरन्तर साधना, गहन अध्ययनका बलमा कम गर्दै लैजान सकिन्छ । ***

@ नागरिक-पश्चिमेली, २०७१ मंसिर १२ ।
www.nagariknews.com

You can leave a response, or trackback from your own site.

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;