हाइकुमा अर्को पाइला

मूलतः हाइकु जापानी पराम्परागत काव्य साहित्यबाट भित्रिएको विधा हो । नेपालको सन्र्दभमा हाइकु वि.सं. २०१९ सालदेखि लेख्न थालिएको मानिन्छ । यो तीन हरफको संरचनामा हुन्छ । सटिकता, सघनता र रसिलोपना हाइकुको भावगत विशेषता हो । संरचनावद्धताको हिसाबले हाइकु १७ अक्षरमा पूरा गरिनुपर्ने हुन्छ । ५, ७, ५ वर्णका शब्दहरुको मात्रामा तालमेल मिलाएर तीन हरफमा यसलाई पूरा गरिन्छ । यो पूर्ण अभिव्यक्ति दिने एक छुट्टै र स्वतन्त्र विधाका रुपमा स्थापित छ । दृश्यात्मकता, विम्बीयता, चित्रात्मकताको सङ्केत नै हाइकु हो । आधा शताब्दी पार गर्दैगर्दा नेपाली साहित्यमा हाइकुको विशिष्ट महत्व छ । आजसम्म हाइकुसम्बन्धी थुप्रै शोधपत्रहरु तयार भएका छन् । कृतिहरु प्रकाशित भएका छन् । हाइकु लेख्नेहरुको दर्विलो उपस्थिती छ ।
हाइकु लेखनको प्राराम्भिक कालमा अभि सुवेदी, क्षेत्रप्रताप अधिकारी, रामदयाल राँकेश, पदमलाल देवकोटा, रत्नशम्शेर थापा आदिले नेपाली हाइकुको अगुवाई गरेका थिए । पुष्कर लोहनी यौनवादी हाइकु लेखनीमा चिनिन्छन् । नेपाल साहित्यमा हाइकुलाई स्व.शङ्कर लामिछानेले भित्र्याएका हुन् ।

हाइकु लेखनको पाटो अरुजत्तिकै लोकप्रिय नभए पनि यो विधामा पनि कलमहरु चलिरहेकै छन् । प्रभावकारीता कम छ । तर, लेख्नेहरु लेखिरहेकै छन् । हाइकु लेखनमा पूर्वले फराकिलो ठाउँ ओगटेको छ । कृति प्रकाशनका हिसाबले पनि यो दाबी गर्न सकिने ठाउँ छ । पूर्वबाट मिश्र वैजयन्ति, गोविन्द विकल, धनकुटे कान्छा, केशव आचार्य, ईरान राई, तिला लेकाली, उमेन्द्र नेम्बाङ ‘विरही’लगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरुको लहर छ । यही लहरमा मिसिन आएका छन्, युवा हाङपाल आङ्बुहाङ । उनको नयाँ कृति ‘च्याब्रुङको आवाज’ (हाइकु) प्रकाशित भएको छ । कृतिमा समकालिन चरित्रका ३ सय ६ वटा हाइकुहरु सङ्गृहित छन् । फुटकर रुपमा हाङपाल आङ्बुहाङ गजल, कविता, गीत, हाइकु लेखिरहेका थिए, पहिल्यैदेखि । यतिबेला उनले सङ्ग्रहकै रुपमा हाइकुहरुलाई प्रकाशनमा ल्याएका छन्, यो उज्यालो कर्म हो । यो सिर्जनाहरुको अन्तिम दस्तावेजीकरण पनि हो । हाइकु पातलोगरी लेखिँदै गरेको अवस्थामा उनको यो आगमनले विशेष महत्व राख्ने छ ।
हाङपाल आङ्बुहाङ दिदेशमा बस्छन् । लामो समयदेखि उनको कर्मथलो उतै हो । तर देशको सिमानाबाहिर रहँदा पनि उनी देशलाई नबिर्सी बाँच्छन् । देशप्रेम छातीभरि टाँगेर रचनाकर्ममा समर्पित हुन्छन् । उनका हाइकुहरु पढ्दा लागिरहन्छ, उनी जहाँ पुगे पनि यो देशको अलिकित सपना, अलिकति दुःख, अलिकति पहिचान सँगै लिएर हिँड्छन् । वास्तवमा यौटा सर्जकको देशप्रतिको प्रेम र सम्मान पनि यही नै हो । हाइकु लेखनका विशेषता र परिधिलाई हेर्दा हाङपालका हाइकुहरुमा विविधता पाइन्छ । थोरै शब्दमा धेरै कुरा भन्नुपर्ने हाइकु लेखनमा उनको कौशलता महसुस गर्न पाइन्छ । आम पाठकका रुपमा उनका हाइकुहरु पढ्दै गर्दा फरक अनभूति गर्न सकिन्छ । तीन हरफे हाइकुमा पनि जीवनको लयलाई भेट्न सकिन्छ । समाजलाई नयाँ ढङ्गले हेर्न र बुझ्न टन्छन्, सकिन्छ । देशका सग्ला तस्बिरहरु पढ्न सकिन्छ । सुक्ष्म संरचनाका हाइकुहरुमा यी कुराहरु भेटिँदा यौटा राम्रो हाइकु आफैँमा सिंगै उपन्यास पनि हुन सक्छ भन्ने मतमा पुगिन्छ ।
Cover_Chyabrungko Aawajहाइकुहरुमा सरल अभिव्यक्ति छ । विषयवस्तुले विविधता बोकेका छन् । कलात्मक र सुन्दर अभिव्यक्ति दिन सक्ने आङ्बुहाङले हाइकुमार्फत् मानवीय जीवनसम्म पुग्ने कोसिस गरेका छन् । समकालिन समाजका परिदृश्यहरु खिचेका छन् । समाज र मानवीय जीवनका थुप्रै पक्षहरुलाई सिर्जनामार्फत् भेट्नु उनको रचानात्मक सफलता हो । उनका हाइकुहरु समाजका प्रतिनिधिमूलक अभिव्यक्तिका रुपमा आएका छन् । प्रेम र जीवनप्रति उनको दोहोरो सम्बोधन छ । कतै विरह पोख्छन् । कतै आसा बटुल्ने काम पनि गर्छन् । विकृत राजनीति, भ्रष्टाचार, बढ्दो अमानवीयता, आसा–निरासा, देशप्रेम आदि उनका हाइकुका साझा विषय बनेका छन् । अनास्था, मानवीय संवेदना, दुःखका अनभूतिबाट सीर्जित हाइकुहरु सुन्दर लाग्छन् । प्रकृतिप्रतिको उनको प्रेम अथाह छ । ग्रामीण जनजीवनसँग पनि उनको राम्रै सङ्गत छ । सहरीया दिनचर्या पनि उनले भोगेका छन् । डायस्पोरि जीवनशैलीसँग उनी नजिकबाट भिजेका छन् ।
१.
आधा चन्द्रमा
चुहुने छानोबाट
मलाई हेर्छ ।
२.
हावामा उड्ने
सिमलको भुवामा
आसाको दाना ।
३.
सम्झना आयो
नेपाली हावापानी
माटोको गन्ध ।
हाइकु काव्यिक विधा हो । यसमा काव्यिक उपस्थिती हुन्छ । एकहिसाबले हेर्दा हाइकु छोटो कविता नै हो, आक्षरिक संरचनालाई छुट्याइदिँदा । यहाँ हाङपालका हाइकुहरुमा पनि काव्यिक प्रभाव, शिल्पी र संयोजन भेट्टाइन्छ । उनका हाइकुहरुमा पसेको काव्यिक चेतना कृतिको सबल पक्ष हो । कतिपय हाइकुहरु पढ्दा कविता नै पढेजस्तो अनुभूति हुन्छ । यसले रचनाको वजनलाई बढाउन मदत पु¥याएका छन् । सरल, सहज र प्रभावपूर्ण अभिव्यक्ति उनका हाइकुहरुको खास विशेषता हो । विम्ब, प्रतीक र मिथकहरुको प्रयोगमा उनले पर्याप्त ध्यान नदिए पनि कोसि सह्रानिय छ । उज्यालो पक्ष के हो भने उनका हाइकुहरुमा आञ्चलिक मिथहरु खासग गरी किराँत समुदाय, पहिचानका मिथहरुको प्रयोग सुन्दर ढंगले भएको छ । यसका लागि पनि नेपाली साहित्यले उनलाई सम्झिने छ ।
अधिकांश हाइकुहरु पठनका हिसाबले उम्दा छन् । यद्यपी, केहीकेही हाइकुहरुमा खाली ठाउँ छ । भाषाको समस्याले कृतिमा कहिँ न कहिँ कालो धब्बा लगाएकै छ । कतिपय हाइकुहरुमा आक्षरिक विचलन पाइन्छ । कृतिको अर्को कमजोरी पक्ष के हो भने लेखकले हाइकुमा विचार निर्माण गर्दैगर्दा कलाको सौन्दर्य थप्न सकेका छैनन् । अर्थात्, हाइकुहरुमा कलामाथि विचार हावी छ । त्यसले सिर्जनाको खास सौन्दर्यलाई थिचेको छ ।
हाङपाल आङ्बुहाङको सुरुआती सिर्जनाकर्मले सम्भावनाको नयाँ क्षितिज उघारेको छ, सर्जक स्वयंका लागि । स्रष्टा यो सिर्जनाकर्ममा थप प्रतिवद्ध भएर अरु मेहनत गर्दै अघि बढ्ने हो भने उनको सिर्जनाको बाटो थप मजबुत हुनेमा शंका छैन ।
***

@ नागरिक पूर्वेली, २०७२१ मंसिर २६ ।
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/2021-nagarik-12-dec-2014/2-nagarik.html

You can leave a response, or trackback from your own site.

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;