विचार/टिप्पणी

नेपाली राजनीतिमा ‘अक्टोबर क्रान्ति’

By on October 30, 2014

अक्टोबर २४ का दिन ‘अक्टोबर क्रान्ति’ सम्पन्न भएको ९७ वर्ष पूरा भयो । यो अवधिमा संसारमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु भए । सन् १९९१ मा सोभियत संघमा रक्तपातविहीन घटनाले नै अक्टोबर क्रान्तिका उपलब्धिहरुलाई इतिहासको विषय बनाइदिएको छ । त्यस घटनापछि संसारका थुप्रै पुँजीवादी शक्तिहरुले खुसीयाली मनाए । उक्त राजनीतिक परिवर्तनलाई कतिले ‘इन्ड् अफ हिस्ट्री’, ‘इन्ड् अफ सिभिलाइजेसन’ र ‘इन्ड् अफ आइडोलजी’ लगायतका उपमा दिए । तर, त्यस्तो विशलेषण वास्तविकतामा आधारित थिएन । दशकौंपछि आइपुग्दा पनि आज प्रश्न उठिरहेको छ कि के पहिलो विश्वयुद्धको दौरानमा स्थापित भएको पहिलो समाजवादी सोभियत गणराज्यको विरासत सकिँदैमा उक्त शासन व्यवस्था स्थापना गर्नका लागि गरिएको अक्टोबर क्रान्तिको औचित्य र सान्दर्भिकता सकिएकै हो ? के समाजवादले आफ्नो सार्थकता गुमाएकै हो ? यी प्रश्नहरु आज पनि उत्तिकै पेचिला छन् ।

संसारमा थुप्रै दार्शनिक तथा चिन्तकहरुले सामाजिक सुधार तथा परिवर्तनका निम्ति ठूल्ठूला सपनाहरु देखे । कैयौं अवधारणा तथा दर्शनहरु अगाढि ल्याए । जस–जसले जे, जस्ता चिन्तनहरु अघि सारे पनि तिनको सारभाव भने आम मानवजातिको कल्याण गर्ने कुरा नै प्राथमिकतामा पर्दै आयो । यस सन्र्दभमा खासगरी करिब २५ सय वर्षपहिले प्रथम राजनीतिक दार्शनिक प्लेटोले आफ्नो चर्चित पुस्तक ‘रिपब्लिक’मार्फत् समाज कल्याणको पूर्विय चिन्तन अघि सारे । त्यसैगरी वेदहरुमा पनि मानवजाति र समाजको रक्षा गर्न उत्प्रेरित गर्ने चिन्तनहरु आए । अतः आजसम्मको मानवीय साहित्यको सुक्ष्म अध्ययन गर्ने हो भने व्यक्तिववादमा भन्दा सामूहिकतामा जोड दिँदै लेखिएको थाहा हुन्छ । तर, चिन्तन अघि सार्नुमात्रै सबथोक होइन, त्यसलाई कार्यान्वयनमा ल्याउन सक्नु चाहिँ मूख्य कुरा हो भन्ने इतिहासबाट पाठ सिक्न सकिन्छ । यस्ताखाले दर्शनहरुलाई व्यवहारतः कार्यान्वयन गर्ने कुरा कति शक्तिसाली हुन्छ भनेर बुझ्न सन् १९१७ को अक्टोबर क्रान्तिमार्फत् चिनिया धरातललाई परेको प्रभाव बुझ्न सकिन्छ ।

अक्टोबर क्रान्तिकै बलमा चिनीय धरातलले नयाँ उचाइ लियो । उक्त क्रान्तिभन्दा अघिसम्म धेरै चिनियाहरु माक्र्स र एंगेल्स् छाडी लेनिन र स्टालिनसँग पनि अपरिचिति थिए । त्यसबेलाको अक्टोबर क्रान्तिको प्रभावले नै सिंगो चिनिया समाजलाई नयाँ किसिमको चेतना प्रवाह गरिदियो । त्यसको असर जति छोटो समयमा छिमेकी मुलुकहरुमा प¥यो, त्यति नै विश्वका अन्य मुलुकहरुमा पनि प¥यो । रसियामा सम्पन्न भएको पहिलो समाजवादी क्रान्तिलाई बचाउनका निम्ति थालिएको छिमेकीहरुसँगको संघ निर्माणको काम थाल्दा युरोप र एसिया महादेशको सिमासँग थुप्रै मुलुकहरुसँग जोडिएकाले संसारभर नै नयाँखाले तरंग सिर्जना गरिदियो । अतः क्रान्ति सामाजिक रुपान्तरणका साधन हुन्, तर आफैँमा साध्य हुन सक्दैनन् । क्रान्तिले लक्ष्य प्राप्तीलाई सजिलो बनाइदिन्छ । त्यस्तो क्रान्तिले मानव जातिको जीवनलाई सहज बनाइदियो भने त्यसलाई ‘क्रान्ति’ भनिन्छ । र, त्यसको विरुद्धमा प्रयुक्त भयो भने त्यो ‘प्रतिक्रान्ति’ साबित हुन्छ । कुनै पनि क्रान्तिसँगै प्रतिक्रान्ति पनि हुन्छ । क्रान्तिको यौटा स्वभाविक चरित्र के हुन्छ भने क्रान्तिको सन्देश र शिक्षलाई सही तरिकाले ग्रहण गर्न सकिएन भने प्रकारान्तरमा प्रतिक्रान्ति दोहोरिने खतरा संसारभरि नै हुन्छ ।

संसार अहिले पनि क्रान्ति र प्रतिक्रान्तिको प्रक्रियाबाटै गुज्रिरहेको छ । विश्वभरि नै क्रान्तिको यौटा चरित्र हुन्छ, बहुसंख्यक हितका निम्ति गरिएको क्रान्तिलाई अल्पसंख्यकका हिमायतीले तुहाउन खोज्छन् । संसारभरकै क्रान्तिहरुबाट हामीले के बुझेका छौं भने एकपटक क्रान्ति सफल हुँदैमा दीगो शान्ति स्थापना भएको पाइँदैन । यस्ता थुप्रै उदाहरणहरु छन् । ‘म्याग्नाकार्टा’ र ‘गौरवमय’ क्रान्तिपछि पनि बेलायतजस्तो मुलुकमा पटक–पटक प्रतिक्रान्तिका शसक्त प्रयासहरु भए । सन् १७८९ को राज्यक्रान्तिपछि फ्रान्समा कैयौंपल्ट प्रतिक्रान्ति भएको इतिहास छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने वि.सं. २००७ सालमा राणा शासनको अन्त्य भएपछि वि.संं २०१७ सालमा पनि प्रतिक्रान्ति भएको थियो । वि.संं २०४६ सालको क्रान्तिपछि वि.संं २०५९ र २०६२ मा तात्कालिन राजा ज्ञानेन्द्रले राज्यसत्ता टिकाउन संविधानको दुरुपयोग गरेका थिए । यस्तो पक्रिया हामीकहाँ मात्रै नभएर संसारभर नै चलिरहन्छ । मूल कुरा के हो भने क्रान्तिकारीहरुले जुनसुकै बेला पनि सम्भावित प्रतिक्रान्तिको खतरालाई नजरअन्दाज गरे भने लडेर हाँसिल गरेका उपलब्धिहरु दुखद् अवस्थाबाट गुम्न सक्छन् । सामान्यतः क्रान्तिसँगसँगै हुने प्रतिक्रान्ति कहाँ, कहिले, कसरी हुन्छ भनेर सोझो अनुमान लगाउन सकिँदैन ।
Karl MArks-jpgअक्टोबर क्रान्ति बोल्सेभिक पार्टीका नेता लेनिन (१८७० १९२४) को नेतृत्वमा सम्पन्न भएको हो । उनै लेनिनले पेरिस कम्युनको अन्त्यपछि लामो समयसम्म बौद्धिक वहसको विषय बनेको ‘माक्र्सवाद’को सिर्जनात्मक प्रयोग गरेका थिए । अक्टोबर २४ को क्रान्तिको सफलतापछि उनै लेनिनले नै पहिलो सोभियत समाजवादी गरणराज्यको शासन गरे । त्यस क्रममा उनले रसियालाई पहिलो विश्वयुद्धबाट अलग राखे । जर्मनसँग सम्झौता गरे । पहिलो विश्वयुद्धको दौरानमा विभाजित बनेको दोस्रो इन्टरनेश्नललाई सन् १९१९ मा तेस्रो इन्टरनेश्नलमार्फत् पुनर्जीवित गरे । त्यस दौरानमा भारतका कम्युनिष्ट नेता एम.एन. राय समेत थिए । यस कारणले पनि तात्कालिन समयमा लेनिनको भूमिका महत्वपूर्ण मानिन्छ । आज उनको त्यही भूमिकालाई लिएर विश्व माक्र्सवादी क्रान्तिको चर्चा तथा विश्लेषण गर्ने गरिन्छ ।

अक्टोबर क्रान्ति र त्यसका उपलब्धिलाई विश्व राजनीतिक वृत्तमा आज पनि धेरै हिसाबले महत्वपूर्ण मानिन्छ । मूलतः मानवीय इतिहासमा समाजवादी शासनव्यवस्था स्थापना गर्नका निम्ति समपन्न भएको पहिलो क्राति नै यही हो । आजसम्म माक्र्सवादको पहिलो सफल व्यवहारिक कार्यान्वयन पनि यसैलाई मानिन्छ । समाजको सबैभन्दा तल्लो वर्ग र समुदायमा नयाँखाले जागरण पैदा गराउने काम पनि त्यही घटनाले गराएको थियो । यही क्रान्तिबाट त्यसताको शासक वर्ग दुःखी भएको थियो भने शाषित वर्गले नयाँ खुसीयाली मनाएका थिए । सिधा हिसाबमा हेर्दाखेरि अक्टोबर क्रान्तिमार्फत् बहुसंख्यक शाषित वर्गले मुक्ति पाएको र मुठ्ठीभर शासक वर्गले आफ्नो सत्ताशक्ति गुमाएको घटना हो । यसैलाई माक्र्सवादको सिर्जनात्मक प्रयोग मानिन्छ । र, विश्व राजनीतिमा आज यसैलाई ‘लेनिनवाद’ पनि भनिन्छ । रसियामा क्रान्ति सम्पन्न भएपश्चात् छरछिमेकका मुलुकलाई संगठित गरी सोभियत संघ बनाइयो । यो समाजवादी मोडेलको संघीय राज्य थियो । अन्ततः यही क्रान्तिपछि विश्वको छैठौं भागमा समाजवादी मूल्य माण्यतामा आधारित उत्तमखाले शासनव्यवस्था स्थापित भएको थियो ।

सन् १९३० को दशकमा विश्वभरि नै उच्च आर्थिक मन्दी छाएको थियो । उक्त आर्थिक संटकलाई चिर्ने सवालमा सोभयित संघघबाट योजनावद्ध विकास थालनी गरिएको थियो । त्यहीबेला हिटलरी नाजीवाद एवं मुसेलिनीको फाँसीवादका नाममा विकसित भएको जातिवादमा आधारित सैनिक व्यवस्थालाई खत्तम गर्नका निम्ति प्रजातान्त्रिक शक्तिहरुसँग संयुक्त रुपमा मोर्चा बनाइएको घटना त्यसताको एक ऐतिहासिक घटना हो । समाजवादी सोभियत संघ र पश्चिमा प्रजातान्त्रिक शक्तिहरुबीच गठबन्ध बनेको थिएन भने सायद आज संसार यो अवस्थामा आउन सक्दैनथियो । लेनिनको पहिलो उत्ताराधिकारी स्टालिनका कतिपय कामका बारेमा पछिल्लो समयमा विविभन्न कोणबाट विरोध भए पनि दोस्रो विश्वयुद्धमा प्रजातान्त्रिक शक्तिलाई विजयी गराउनका निम्ति उनले पु¥याएको योगदानलाई सबैले सम्मान नै गर्छन् । यी कुराको सारांश के हो भने दोस्रो विश्वयुद्धपछि विकसित भएको विश्वव्यापी राजनीतिक परिवेशमा सोभियतबाहिर आएका थुप्रै राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक परिवर्तनहरुमा अक्टोबर क्रान्तिको उच्च प्रभाव परेको पाइन्छ । परिणामतः अक्टोबर क्रान्तिकै पृष्ठभूमिबाट त्यसबेला एसिया, अफ्रिका, ल्याटिन अमेरिकाजस्ता थुप्रै देशहरु त्यसबेलाको सैन्यवाद र साम्राज्यवादी उत्पीडनबाट मुक्त भएका थिए । फलतः ती मुलुकहरु विकास र परिवर्तनको नयाँ चरणमा प्रवेश गर्न सफल भए ।

हाम्रो देश पनि अहिले क्रान्ति र प्रतिक्रान्तिका बीचबाटै गुज्रिरहेको छ । यति लामो प्रक्रियामा अक्टोबर क्रान्तिको प्रभाव पहिल्यैदेखि पर्दै आइरहेको छ । नेपालमा भएको राणाविरोधी आन्दोलनमा पनि सोभियत संघको सकारात्मक सन्देशले नेपालका क्रान्तिकारीहरुलाई नयाँखाले जोश, जाँगर र उर्जा दिएको कुरालाई नर्कान सकिंन्न । अतः नेपालमा समाजवादी चेतनाको विकास तथा विस्तारमा यसको अत्यन्त सकारात्मक प्रभाव रहेको कुरालाई नकार्न सकिंन्न । यसैबीच सन् १९६० पछि विश्वका दुई ठूला समाजवादी मुलुक सोभियत संघ र चिनमा अस्वभाविक विवाद सिर्जना भैदियो । पार्टीस्तरबाट सुरु भएको उक्त विवाद पछि गएर सरकार र राज्यको संरचनाको विवादमा विकसित हुँदा दुई देशबीच ठूलै टकरावको अवस्था गुज्रियो । त्यसबेला अक्टोबर क्रान्तिबाट दुःखी भएकाहरु निकै खुसी भएका थिए । त्यस्तो अवस्थामा संसारभरिकै समाजवादी आन्दोलन विकास र आक्रमणको अवस्थाबाट भन्दा बढी रक्षात्मक अवस्थाबाट अघि बढ्यो । कालान्तरमा सोभियत संघको नेतृत्वमा गठित समाजवादी व्यवस्था असोचनीय रुपमा ध्वस्त हुन पुग्यो ।

अन्ततः विश्वको समाजवादी क्रान्ति उल्टो दिशामा लाग्यो । सोभियत संघको पतनमा सोभियत कम्युनिष्टहरु नै लागे । त्यस अवस्थामा यसको फाइदा पुँजवादीलाई भयो । आजसम्म विश्वको समाजवादी क्रान्ति त्यही घटनाको परिणामका कारण कठिन अवस्था भोग्नु परिरहेको अवस्था छ । यसको असर आज विश्वभरि नै परिरहेको छ । यो कोणबाट हेर्दा सन् १९१७ को  अक्टोबर क्रान्तिको बलमा स्थापित सोभियत शासनव्यवस्था दुुःखपूर्ण अवस्थाबाट परास्त भए पनि विश्वभरि नै त्यस घटनाको सन्देश र शिक्षाको सार्थकता निकै माथि छ । आज संसारमा समाजवादी क्रान्तिको बाटोमा हाम फालेका र त्यस्तो शासन पद्धति भएका मुलुकका शासकहरुका लागि सन् १९१७ को अक्टोबर क्रान्तिको उपलब्धि र त्यसको दुखद् विघटनको घटना एक महत्वपूर्ण पाठका रुपमा छ ।

सन् १९१७ को रसियामा भएको पहिलो क्रान्तिले साम्राज्यवादी जारशाहीको विसर्जन गरिदियो । यसलाई फेब्रुअरी क्रान्तिका नामले चिनिन्छ । त्यसपछि अक्टोबरमा अर्को क्रान्ति भयो । अक्टोबर क्रान्तिले माथि भनिएजस्तै समाजवादी मूल्य र मान्यतामा आधारित शासनव्यवस्था स्थापित गरिदियो । उक्त शासनव्यवस्था ७४ वर्षपछि ढल्यो । साम्राज्यवादीहरुले त्यही घटनलाई क्रान्तिको नाम दिए । त्यही घटनाले नै सन् १९१७ को क्रान्तिमार्पत् हाँसिल गरिएका तमाम् उपलब्धिहरुलाई नामेट पारिदिएको थियो । आज त्यही घटनालाई अक्टोबर क्रान्तिको ‘प्रतिmक्रान्ति’का रुपमा स्वीकारेर विश्लेषण गरिन्छ । त्यस्तो प्रतिक्रान्तियता पनि लामो समय बितिसकेको छ । तर मानवीय जीवन र जनजिवीका अन्यन्तै कठिन बन्दै आइरहेको छ । पुँजीवादी पृष्ठभूमिबाट विकसित भइरहेको अहिलेको अर्थराजनीतिक व्यवस्थाले समाजका तल्लो तहका जनताको त्यस्तो समस्या समाधान गर्ने कुरा सम्भव हुँदैन । उच्चस्तरको चेतना पैदा भइसकेको समाजमा अब पनि विश्वयुद्धकालिन धरातलमा विकसित भएको समाजवादी चेतनाले मात्रै पनि यी समस्या हल गर्न सक्दैन । अतः ठोस परिस्थितीको ठोस विश्लेषण गरेर बुहसंख्यक श्रमजीवि जनताको पक्षमा काम गर्नु नै माक्र्सवादको मूल दर्शन र सार पनि हो । वास्तवमा भन्ने हो भने वर्गविहीन समाजवादी व्यवस्था स्थापित गर्नु नै संसारभरका क्रान्तिकारी शक्तिहरुले किटान गरेको आधुनिक साम्यवादी लक्ष्य हो ।

अक्टोबर क्रान्तिको सन्दर्भले समकालिन नेपाली राजनीतिक परिवेशमा विशेष अर्थ राख्दछ । २००० को दशकदेखि यता यहाँको राजनीतिक आरोह–अवरोहहरुमा यो विषय नजिकबाट जोडिन्छ । मूलतः वर्गीय समाज रहँदासम्म अक्टोबर क्रान्तिको सन्देशको सार्थकता ररिहरन्छ । तर, त्यसलाई यहाँको राजनीतिक वस्तुस्थिति, अर्थराजनीति र भूराजनीतिको आधारमा ग्रहण गर्न सक्नुपर्छ । नेपालको सन्दर्भमा अक्टोबर क्रान्ति, उक्त क्रान्तिमार्फत् स्थापित समाजवादी राज्यव्यवस्था तथा कालान्तरमा त्यसमाथि भएको प्रतिक्रान्तिको घटनाबाट विशेष पाठ सिक्न आवश्यक छ । समकालिन राजनीतिक कोर्समा पनि यसले विशेष अर्थ राख्दछ । अतः अहिलेसम्मका सबैखाले अनुभवहरुबाट उचित शिक्षा लिँदै नवीन ज्ञान एवं चेतनाको उच्चतम् प्रयोग गर्दै बहुसंख्यक जनताको हित हुने कार्यभारमा लाग्नु नै नेपालको वर्तमान सन्दर्भमा अक्टोबर क्रान्तिको सारभाव हो । <>

@ नागरिक-पूर्वेली, २०७० कार्तिक १३ ।

TAGS
RELATED POSTS

LEAVE A COMMENT

प्रवीण बानियाँ

प्रवीण बानियाँ व्यावसायिक पत्रकार हुन् । मूलधारका पत्रिकामा डेस्क सम्पादक भएर काम गरिसकेका उनी खोजमूलक समाचार, बायोग्राफी, फिचर र साहित्य लेखन तथा सम्पादनमा समेत दखल राख्छन् ।

सामाजिक सन्जाल
प्रवीणको फेसबुकमा जोडिनुहोस्
प्रवीणलाई ट्वीटरमा पछ्याउनुहोस्
प्रवीणका ट्वीटहरू
  • १ सय ३६ चराचुरुंगीको आवाज दुरुस्त निकाल्ने एक कविको कला र सिर्जनाको फरक पाटो । कवि जो चरा कराउँछ https://t.co/7GTtST10Wx

    Tweeted on 12:40 AM Sep 21

  • यहाँ- 'सधैं खुसी रहनू' भनेर शुभकामना दिनेको अभाव छैन, अभाव त अप्ठ्यारोमा साथ दिने मान्छेको छ !

    Tweeted on 09:55 AM Sep 12

  • अब देशमा बनाउन बाँकी समाचारको शीर्षक– प्रधानमन्त्रीले मन्त्रीको संख्यामा पूरा गरे अर्धशतक, टिम देउवा ऐतिहासिक जिततर्फ !

    Tweeted on 05:27 AM Sep 11

  • कसम ! विद्यासुन्दर शाक्यका ठाउँमा अरू (पार्टी) कोही मेयर हुन्थ्यो भने अहिलेसम्म केपी ओलीले 'उखान' सुनाएरै आधा ज्यान सुकाइदिन्थे !

    Tweeted on 02:12 AM Sep 09

  • दृश्य–१: परदेश जाँदा आमाबाबुले छोरालाई मुटुभरिको आशीर्वचन दिएथे ! दृश्य–२: छोराले वर्षौंपछि परदेशबाट गाउँमा वृद्धाश्रम खोल्न अनुदान पठायो !

    Tweeted on 07:07 AM Sep 08

  • टाढाबाट हेर्दा देखिने 'सुन्दरता' हो । नजिकैबाट हेर्‍यो भने अक्सर 'खराबी' देखिन्छ ।

    Tweeted on 10:46 PM Jul 27