समीक्षा

देशबाहिरका अनुभूति

By on December 20, 2014

आफ्नो जीवनको सबभन्दा उर्जाशील र सक्रिय उमेर खर्चेर उच्च शिक्षा हाँसिल गर्छन् उनीहरु । राज्यले लागू गरेको कोरा शिक्षाको उपलब्धिका रुपमा मास्टर डिग्रीका चम्किला मार्कसिट हातमा हुन्छन् । तर पनि भविष्यको कुनै सुनिश्चितता हुँदैन । हातमा देशको सरकारले जारी गरेको नागरिकताको प्रमाणपत्र बोकेर उनीहरु आफूलाई पराय नागरिक ठान्छन्, आफ्नै देशमा । अन्ततः उनीहरु सम्भावनाको खोजिमा देशको सिमाना नाघेर हिँड्छन् । ती नै युवाहरुको जीवन खाँटी रङ र भोगाइका विविध भाकाहरु छन्, कथासंग्रह ‘तिर्खा’मा ।
हाम्रो देशबाट वर्षेनी लाखौंको संख्यामा पौरखी युवाहरु श्रमबजारको खोजिमा विदेसिन बाध्य छन् । आफू र आफ्ना परिवारका लागि धेरथोर खुसी किन्ने, घर बनाउने, अभावको धारिलो घेरा नाघेर अलिकति भए पनि आनन्दको सयम बाँच्ने, ऋिण तिर्ने आदि इत्यादी सपनाका साथ हरियो राहदानी बोकेर अरब जाने युवाहरुको लस्कर आज पनि उस्तै छ । उनीहरुसँगै अलिकति यो देश पनि उतै जान्छ । देशका सपना–बिपना, सुख–दुःख पनि उनीहरुसँगै जान्छन् । यो देशको भाग्य र भविष्यको ठूलो हिस्सा पनि सँगै जान्छ । र, ती युवाहरु विदेशमा गएर पैसासँग आफ्ना सपना–रहरहरुको विनिमय गर्छन् । यही यथार्थ बोकेका बलिया कथाहरु पढ्न पाइन्छ, ‘तिर्खा’मा । एक वाक्यमा भन्नुपर्दा ‘तिर्खा’ देश बाहिरको श्रमबजारमा बाँचिरहेको सानो नेपाल हो ।

‘तिर्खा’ युवा कथाकार कृष्णपक्षको नवीनतम् कृति हो । कृतिमा २३ थान छोटा कथा छन् । अधिकांश कथाको मूल विषय डायास्पोरा र त्यसले जोड्ने जीवनका विविध सिलसिलाहरु नै हुन् । यौटा नेपाली नागरिक देशबाहिर गएर के–के गर्छ, जीवन कसरी बाँच्दछ, त्यहाँको देशकाल, समाज, संस्कृति, राज्यव्यवस्था र इतिहासले उसलाई कसरी र कुन रुपमा प्रभावित पार्छ भन्ने कुरा प्रस्तुत कृतिभित्र समेटिएका अधिकांश कथाहरुमा खास विषय बनेका छन् । कथाहरु नितान्त अनुभूतिपरक छन् । तर, त्यो अनुभूतिमा आफ्नो देश कहीँ छुटेको छैन । यहाँको राष्ट्रियता कतै हराएको छैन । घर र परिवारका सम्झनाहरु कथामा हरबखत उभिन आइपुग्छन् । आफू कामदारका रुपमा रहँदै आएको ठाउँ र त्यहाँका विभिन्न पक्षहरुले कथामा प्रशस्तै ठाउँ लिएका छन् ।
कृष्णपक्षका कथाहरुको जग अनुभूति नै हो । जसले गर्दा कथाहरु बढी निबन्धात्मक चरित्रमा संरचित छन् । सरसरती कथा पढ्ने पाठकलाई उनका कथाहरु कविता पढेजस्तो सक्छ । अर्थात्, उनका कथामा काव्यिक सौन्दर्य र त्यसखाले तत्वहरुको उपस्थिती बलियो छ । कथाको विषय र त्यसको केन्द्रियता, कथाले माग गर्ने पात्र र पात्रहरुको विस्तार, घटनाक्रमको सिलसिला तथा परिस्थितीहरुको निर्माणले कथाहरुमा घुमौरो बाटो बनाएका छन् । अर्थात्, कथाहरुमा तात्विक दायरा भत्किँदै, सम्हालिँदै अघि बढेको छ । कथाले आंशिक आख्यानको माग गर्दछ । कथालाई घटनाक्रम र पात्रको आवतजावतका बीचमा फिँजाउन सकिएन भने कथाहरु दबाबका बीचमा टुंगिन्छन् । त्यो बेला कथाकारको कथाकारिता खुम्चिन पुग्छ । त्यसको हानी कथामा पर्छ । कृष्णपक्षका कथाहरुमा यो खड्किएको पक्ष हो ।
यौन अन्त्यहीन र नितान्त प्राकृतिक भोक हो, यसमा फरक मत नहोला । सम्बन्धमा समझदारी बन्छ भने यौनको भोक जहाँ र जहिले पनि परिपूर्ति गर्न सकिन्छ । यौनको भोक मेट्नका लागि कुनै वैधानिक सम्बन्ध नभए पनि फरक पर्दैन भन्ने कुरालाई छुट दिएको छ, कृतिको शीर्ष कथा ‘तिर्खा’मा । बहुसंख्यक कथाहरुमा इजरायल स्थानविशेषका रुपमा बारम्बार दोहोरिएर आएको छ । प्यालेस्टाइन र इजारायल बीचको राजनीतिक द्वन्द्वको पृृष्ठभूमि र द्वन्द्वोत्तर समाजमा अघि बढिरहेको दुई देशीय राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक अवस्था र त्यसले सिर्जना गरेका थुपै्र घटनाक्रमहरु कथाहरुमा साहयक विषय बनेर आएका छन् । त्यसैगरी, नेपाली युवा देशबाहिर रहँदा कसरी त्यहाँको परिवेशसँग मिल्छ, अतिरिक्त सम्बन्धहरु कसरी सुरु हुन्छन्, कुन रुपमा विकसित हुन्छन् र कसरी अन्त्य हुन्छन् भन्ने कुरा पनि केही कथामा विषय बनेका छन् । अतः कृतिभित्रका बहुसंख्यक कथाहरु डायस्पोरिक जीवनशैली र त्यससँग रोकार राख्ने अन्य पक्षहरु परिपरि घुमेका छन् ।
936070_1465389807042157_901023279327691384_n (1)पूरानो ‘फम्र्याट’का कथाहरु पढ्दै आइरहेका पाठकका लागि कृष्णपक्षका कथाहरु नयाँ लाग्छन् । उनी कथामा फरक चरित्र देखाउन रुचाउँछन् । त्यसले कथाकारितालाई कुनै न कुनै रुपमा उज्यालो थपेकै छ । कथाकारले कथामा परम्परागत अनुशासन र दायरालाई अनिवार्य नठानी फरक शैली प्रस्तुत दिन खोजेको देखिन्छ । उनका कथामा पाइने यौटा विशेषता के हो भने उनी निर्माण गर्दागर्दै कथामा कविता लेखिसक्छन् । कविताको सौन्दर्य कथाहरुमा पोखिसक्छन् । र, कथालाई कविताजस्तो बनाइदिन्छन् । आफूले भन्न चाहेको कुरा सुकिला विम्ब समातेर भनिदिन्छन् । उनका कथाहरु पढ्दै जाँदा कथा कम र बढी कविता पढेजस्तो लाग्छ ।
सरल भाषामा उन्नत कथा खोज्नेका लागि कृष्णपक्षका कथाहरु गुरुकुल लाग्छन् । कथाहरुमा चोखा विम्ब, सङ्गीत र ओजपूर्ण शब्द खोज्नेहरुका लागि उनका कथाले झनै ठूलो महत्व राख्नेछन् । समसामयिकतालाई बुझ्ने र व्यक्त गर्ने अनि जीवन र जगत्लाई हेर्ने उनको कथाको झ्याल नितान्त बेग्लै छ । कथाकारले त्यो झ्याल भर्खरै खोलेजस्तो लाग्छ, जसको उज्यालो उनका कथाभरि पोखिएको छ । उनका हरेक कथामा पाइने प्रस्तुतीको कोमलता, लालित्यले कुनै पाठकीय मन र मस्तिष्क दुवैलाई थाहै नपाई छोइसक्छ । वास्तवमा उनका कविताको असली सौन्दर्य पनि यही हो ।
उनका कथामा भाषाको फरक स्फूर्ति छ । प्रस्तुतीमा ताजापन छ । शैलीका हिसाबले पनि यी कथाहरु विशेष छन् । जसले गर्दा उनका कथाहरु पढ्दा ताजापनको अनुभूति भइरहन्छ । यी सबै कुराका बीचमा पनि कथाकारले कथाहरुमा केही रिक्तताहरु, केही अभावहरु छाडेका छन् । केही टीप्पणी गर्ने सुविधा दिएका छन् । कतिपय कथाहरुमा कथाकार खुलेका छैनन् । विषयको छनौटमा कथाकारले जुन चेतनास्तर र क्षमता राखेका छन्, कथा निर्माण, प्रस्तुतीमा भने चाहिने प्राविधिक कौशलता चित्तबुझ्दो पाइँदैन । कतिपय अवस्थामा कथाहरु राम्ररी बुनिएको छैन । आवश्यकीय ठाउँहरुमा कथाले मागेअनुसार पात्रहरु पेश गरिएको छैन । कतिपय कथा पात्रहरुकै अभावमा टुंगिएका छन् । कति ठाउँमा कथालाई तन्काउन कन्जुस्याइँ गरिएको छ । प्राविधिक कुराजस्तो लागे पनि उत्तम कथाका लागि भने यी घाटाकै कुरा हुन् । आगामी दिनहरुमा यसतर्फ ख्याल गर्न जरुरी देखिन्छ ।
अंग्रेजी साहित्यको ‘नन् फिक्सन राइटिङ’मा पाइने विविध कलेवर विषयको प्रभाव कृष्णपक्षका कथाहरुमा पाइन्छन् । यिनका कथाहरुमा अंग्रेजी साहित्यका १८÷१९ औं शताब्दीका प्रसिद्ध कथाकार र त्यसताका कथाहरुको चित्र पनि भेटिन्छ । भलै, सिर्जनाको प्रभाव पर्छ, । नत्रभने कवि, लेखकका पछाडि संसार किन लाग्ने ? सिर्जनाका माध्यमबाट आम मानिस र जगत्ले आफ्ना दुःख र पीडाहरुलाई सुख र आनन्दमा रुपान्तरण गर्न सक्दैन भने उनीहरुका रचना किन पढ्ने ? कृष्णपक्षका कथाले पाठक हृदयलाई छुँदैनन्, आम मानिसलाई सुखद् अनभूति दिलाउँदैनन् भने उनका कथाको पछि को लाग्ने ?

कृति : तिर्खा
विधा : कथा
प्रकाशक : शब्दहार क्रियशन्स्
पृष्ठ : १६४
मूल्य रु. : १९९/-
***

@ नागरिक-अक्षर, २०७१ पुस ५ ।

TAGS
RELATED POSTS

LEAVE A COMMENT

प्रवीण बानियाँ

प्रवीण बानियाँ व्यावसायिक पत्रकार हुन् । मूलधारका पत्रिकामा डेस्क सम्पादक भएर काम गरिसकेका उनी खोजमूलक समाचार, बायोग्राफी, फिचर र साहित्य लेखन तथा सम्पादनमा समेत दखल राख्छन् ।

सामाजिक सन्जाल
प्रवीणको फेसबुकमा जोडिनुहोस्
प्रवीणलाई ट्वीटरमा पछ्याउनुहोस्
प्रवीणका ट्वीटहरू
  • कसम ! विद्यासुन्दर शाक्यका ठाउँमा अरू (पार्टी) कोही मेयर हुन्थ्यो भने अहिलेसम्म केपी ओलीले 'उखान' सुनाएरै आधा ज्यान सुकाइदिन्थे !

    Tweeted on 02:12 AM Sep 09

  • टाढाबाट हेर्दा देखिने 'सुन्दरता' हो । नजिकैबाट हेर्‍यो भने अक्सर 'खराबी' देखिन्छ ।

    Tweeted on 10:46 PM Jul 27

  • दिवंगत कवि छोराको सम्झनामा ३५ वर्षदेखि निःशुल्क पुस्तकालय चलाएर बसेका एक 'अनपढ लाहुरे बाबु'को कथा ! My new piece @… https://t.co/mG8eDl355r

    Tweeted on 06:09 AM Mar 25

  • विराटनगरका तन्नेरी नाट्यकर्मीबारे #कान्तिपुर दैनिकको 'हेलो शुक्रबार' मा फिचर ! https://t.co/Kw1D3m4nhq

    Tweeted on 07:04 AM Feb 24

  • कवि दीपा राई पुनसँग उनको कविताकर्म र कविताका विषयमा गरिएको संक्षिप्त वार्ता @ शुक्रबार (साप्ताहिक) ।… https://t.co/BpirX2wzeo

    Tweeted on 06:13 PM Jan 21

  • एउटा मूर्तिकार जो निजी खर्चमा विश्वप्रसिद्ध व्यक्तिहरूको हजार मूर्ति बनाएर राष्ट्रलाई 'उपहार' दिन चाहन्छ ! My new… https://t.co/x1eu33bRMr

    Tweeted on 11:56 PM Nov 25