विचार/टिप्पणी

सरकारका नाममा खुला पत्र

By on March 28, 2015

सरकार ! यसपल्ट गजप भयो । सोचेको पूरा भयो । हिजो इतिहासमा राजनीतिक नेतृत्वबाट थुप्रैपल्ट धोका खाएका हामीले यसपल्ट धोका खानुपरेन, अचम्म भयो । साँच्चै ! धोकाको सिलसिलाले यसपल्ट क्रमभङ्गता पायो । देशमा संविधान नबनोस् भन्ने कुतत्वहरू यसपल्ट बढारिए । देशमा सङ्क्रमण लम्बिदा नै आफ्नो भलो देख्नेहरू यसपल्ट नमज्जाले जिल्लिए । माघ ८ मा संविधान आउँदैन भन्नेहरूको सात्तो गयो । धन्य सरकार ! यसपल्ट हामीले विगतको जस्तो निराश हुनुपरेन । यसपल्ट हामीले संविधान पायौं । अधिकार पायौं । देशले वर्षौंदेखिको उल्झनबाट मुक्ति पायो । नयाँ नेपाल निर्माणको मूल ढोका खुल्यो । साँच्चै सरकार ! यसपल्ट हामी सिङ्गो हृदय निचोरेर धन्यावाद दिन्छौं । एकपल्ट हैन, हजारपल्ट धन्यवाद दिन्छौं ।
पोहोर चुनाव होला कि नहोला भन्ने थियो । बिथोल्नेहरूले सकेको उपद्रो मच्चाए । चुनाव लड्ने उम्मेद्वारका हातखुट्टा भाँच्ने धम्की दिए । मतदातालाई ‘चुनावमा भोट नहाल्न’ उर्दी जारी गरे । चुनावका दिन बिहानैदेखि बम पड्काए । तैपनि, हामी बम–बारुदको पर्वाह नगरी भोट हाल्न गयौं । आफ्ना नेताको जीउमा लागेको हिलोमैलो पखालेर उनीहरूलाई फेरि एकपल्ट सुकिलो बनााइदियौं । र, संविधान लेख्ने अभिमत दियौं ।

त्यो दिन हामीलाई लागेको थियो, यसपल्ट हालेको भोटले हामी जरुर संविधान पाउँछौं । शान्ति, विकास र समृद्धि सब कुरा पाउँछौं । यसपल्ट हामीले सबथोक पायौं सरकार ! माघ ८ का दिन संविधान पायौं । र, घर–घरमा दीपावली मनायौं । सहरभरि विजयजुलुस निस्कियो । साँच्चै भन्ने हो भने देश अहिले उत्सवमय छ । जनता आजसम्म पनि खुसियाली मनाइरहेका छन् । यो वर्ष हामी भाग्यमानी साबित भयौं । देशले संविधान पायो । जनताले कहिल्यै नपाएको खुसी पाए । अब देश कसरी रातारात बन्छ सरकार ।

पहिलो संविधानसभा तुहिँदा नेपाली काङ्ग्रेसले भन्ने गथ्र्यो, ‘जनताले काङ्ग्रेसलाई ठूलो दल नबनाएकाले संविधान बनेन् ।’ दोस्रो चुनावमा जाँदा काङ्ग्रेसले जनतालाई त्यही भन्यो । र, एकपल्ट विश्वासको मत माग्यो । जनताले त्यही गरे । काङ्ग्रेस दोस्रो संविधानसभामार्फत् ठूलो दल बन्यो । उसकै नेतृत्वमा सरकार बन्यो । नेपाली राजनीतिमा ‘स्वच्छ’ छवि बनाएका काङ्ग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बने । उनले पार्टीभित्रका विद्वान नेताहरूलाई छानी–छानी मन्त्री बनाए । उनले सुरुमै राम्रो छनक दिए । आम मान्छेलाई लागेको थियो, कोइराला नेपाली राजनीतिका त्यस्ता पात्र हुन्, जसलाई नेपाली समाजका अन्र्तवस्तु, आम जनताका चाहाना र आवश्यकता नै थाहा छैन । चिन्ता थियो, स्वच्छ छवि देखाउँदा सुशील ‘पेसिभ’ बने भने देश कता जाला ? तर, त्यस्तो भइदिएन । सुशील जति स्वच्छ छविका थिए, त्यति नै सक्रिय र गतिवान् रहँदै आए । र त देशले यसपल्ट सजिलै संविधान पायो । गजप भयो । निजी धन–सम्पति नभएका, परिवार नभएका, लोभ र स्वार्थ नभएका र पहिला कुनै सार्वजनिक पद नसम्हालेका व्यक्ति सुशीलले साँच्चै नै निष्ठाको राजनीति गर्छन् भन्ने विश्वास थुप्रैमा थियो । र, यसपल्ट उनले ‘सुशील कुरा गर्दैनन्, काम गर्छन्’ भन्ने कुरा साबित गरेर देखाइदिए । जनताले निराश हुने कति पनि ठाउँ पाएनन् । देशमा यौटा असल सरकार हुनुको प्रत्याभूति दिलाउन उनले भगीरथप्रयास गरे । उनी मूल काम छाडेर दशथरी काम गर्नतिर लागेनन् । नेवी संघको महाधिवेशन गर्ने कि नगर्ने ? सार्ने कि नसार्ने ? कतिपल्ट सार्ने ? गर्दा कहिले गर्ने ? कसलाई जिताउने र कसलाई हराउने ? भन्नेमा उनी लागेनन् । पार्टीभित्रका गुट–उपगुट मिलाउनका लागि ‘पार्टी म्यानेजर’को रूपमा खटिएनन् । अन्यत्र बरालिएनन् । त्यसो त पार्टीभित्र उनलाई ‘नरुचाउने’ गुटले पनि यसपल्ट उनलाई पूरापुर सहयोग गरे । आफ्नाले छिर्के लाएनन् । उनलाई ‘सफल प्रधानमन्त्री’ र आफ्नो पार्टी नेतृत्वको सरकारलाई ‘सफल सरकार’ बनाउन सिङ्गो काङ्ग्रेस पार्टीले शानदार भूमिका निभायो । साँच्चै ! यसपल्ट अचम्म भयो सरकार । सब कुरा सोचजस्तै भयो । यसपल्ट फरक भयो । कोइराला प्रधानमन्त्री भएदेखि देशमा जारी राजनीतिक शून्यता तोडियो । संवादहीनताको अन्त्य भयो । उनका शब्द र संवाद अरुले अड्कल गरेजस्तो निरीह र कमजोर देखिएनन् । उनी जुन जिम्मेवारी र इतिहासको कालखण्डमा उभिएका थिए, त्यहाँ उनीसँग नभइ नहुने गुण भनेको जनतामा शब्द र संवादबाट भएपनि आशा र भरोसा जगाउनु थियो । एउटा कुशल शासकका निम्ति यो निकै महŒवपूर्ण कुरा हुन्छ । सुशीलले त्यो आवश्यकता पूरा गर्दै अघि बढे । अत्यन्तै चलायमान राजनीतिको बेला मुलुक हाँक्ने जिम्मेवारी लिएर कार्यकारी पदमा बसेका प्रधानमन्त्री चाहिँ स्थिर भइदिएका थिए भने थुप्रै कुरा बिग्रन्थे । देश न पछाडि फर्किन सक्थ्यो, न अगाडि नै बढ्न सक्थ्यो । धन्न, त्यस्तो भएन । सब कुरा भनेजस्तै र सोचेजस्तै भयो । राजनीतिको गाडी शकुसल कुदिरह्यो ।

Sishil koiralaसंविधान बनाउने काम संविधानसभाको हो, सरकारको होइन । सरकार सहयोगी निकायमात्रै हो । तर, संविधानसभालाई काम गर्ने वातावरण सिर्जना गरिदिने, दलहरूलाई संवादमा जुटाउने, विवादित विषयहरूमा सहमति खोज्ने काम सरकारले नै गर्ने हो । दैनिक प्रशासन चलाउनेदेखि बाहेक यी काम कोइराला सरकारको प्राथमिकतामा पर्लान् कि नपर्लान्, सरकारले त्यो ल्याकत राख्ला कि नराख्ला भन्ने आम चिन्ता थियो । सुशीलले त्यो चिन्तालाई व्यर्थ बनाइदिए । संविधानसभालाई गतिशील बनाइराख्न र उसका लागि अनुकुल राजनीतिक वातावरण बनाउन सरकारले सोचेभन्दा राम्रो भूमिका खेल्यो । यदि त्यसो हुन सकेको थिएन भने दलहरू आज पनि पाँच वर्ष अघिकै स्थितीमा हुन्थे होला । विवादित विषयहरू जाहाँको ताहीं हुन्थे होलान् । धन्न, सरकारले आफ्नो क्षमता प्रदर्शन ग¥यो । र, हिजो चार वर्षमा बन्न नसकेको संविधान यसपल्ट एक वर्षमै बन्न सक्यो । साँच्चै ! यसपल्ट संविधान बन्यो, गजप भयो सरकार !
हामीले हिजोको संविधानसभा देख्यौं । त्यसको बिजोगपूर्ण अवसान भोग्यौं । सत्ता र कुर्सीको खेलबाट आजित भएका जनतामा भरिएको निराशा देख्यौं । हामीले बुझ्यौं । यौटा सामान्य कुरा के हो भने संविधानसभा र राजनीतिसँग जोडिने पट्यारलाग्दा बहसका विषयहरूभन्दा सरकारका लोकप्रिय कार्यक्रमहरू जनताका लागि महŒवपूर्ण हुन्छन् । सरकारको भूमिका र रणनीतिक सोच त्यो बेला राम्रो विकल्प हुन सक्छ । राजनीतिको सामान्य आँखीझ्यालबाट हेर्ने हो भने आम मतदाताका निम्ति लोकतन्त्रको निर्माण, उत्पादन र त्यसको न्यायपूर्ण वितरण, सामाजिक सुरक्षामा बढोत्तरीजस्ता कुरा नै मुख्य हुन्छन् । अतः यी सब कुरा यौटा क्षमतावान् र गतिवान् सरकारले मात्रै गर्न सक्दछ । कोइराला सरकारले त्यो गरेर देखायो । हामी यस मानेमा पनि खुसी छौं सरकार !
माघको पहिलो हप्ता संविधानसभामा ताण्डव देखियो । ‘मिलेर संविधान लेखौं नत्र बेकामे संविधान लेख्न दिन्नौं’ भन्नेहरूले ठूलै उपद्रो मच्चाए । कुर्सी भाँचे, माइक भाँचे । सबैले हेरे । विश्वभरि खबर बन्यो । एक विद्वान नेताको विश्लेषणलाई मान्दिने हो भने उनीहरूले संविधान सभामा ‘माकाफुइँ’ देखाए । तर धन्न, सरकार डग्मगाएन । ‘मिल्न आए ठिकै छ, नत्र एक्लै हिडिँन्छ’ भनेर सरकारले जुन आँट देखायो, त्यसलाई एकपल्ट हैन सैयौंपल्ट सलाम गर्न मन लाग्छ । सत्तारुढ दलहरूले ‘प्रक्रिया’को जुन बाँसुरी बजाए, त्यो बाँसुरीका अघि दोस्रो संविधानसभाले निर्माण गरेको जनमत नै अन्तिम रह्यो । हिजोका विस्तृत शान्ति सम्झौता, दोस्रो जनआन्दोलन र त्यसको मर्म, पहिलो संविधानसभाको अभिमत, समग्र शान्ति प्रक्रिया, विभिन्न समयमा आन्दोलनकारी राजनीतिक शक्तिहरूबीच बनेका सहमति–सम्झैताहरू र त्यसका अन्तरवस्तुहरू ती सब बेकामे हुन् । तिनीहरूको अब कुनै अर्थ छैन । त्यो केवल इतिहास हो । र, इतिहास पढ्नका लागिमात्रै हो सरकार ! सरकारको यो बुझाइ कम साहसपूर्ण छैन ।
अहिले राष्ट्रिय राजनीतिले बोकेका संविधानसभा, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता, उत्पीडित–उपेक्षित वर्गलाई अधिकार दिनेजस्ता शीर्षकमा हिजो माओवादीहरूले दश वर्षसम्म देशमा हिंसा मच्चाए, त्यो इतिहासको दुखद् भुल थियो । उनीहरूले जनतामा रातारात उच्चस्तरको तीब्र राजनीतिक चेतना पैदा गराइदिए, त्यो झुठ थियो । सदियौंदेखिको सामन्ती राज्य व्यवस्थाको मियो ढाल्न र हालको राजनीतिक परिवर्तनलाई सम्भव तुल्याउन उनीहरूले सिन्कोसम्म भाँचेनन् । बरु, उपलब्ध परिवर्तनमा काङ्ग्रेस–एमालेहरूको प्रशस्तै रगत र पसिना मिसिएको छ । यसरी अघि बढेको नेपालको राजनीतिक डिस्कोर्समा ‘तथाकथित् माओवादी’हरूलाई पेलेरै जान किन नसक्ने ? काङ्ग्रेस–एमालेले त्यो क्षमता किन नराख्ने ? जानी–जानी आफ्नो सत्तास्वर्गमा किन आगो लाउने ? काङ्ग्रेस–एमालेको यो धुत्र्याइँ निकै सुन्दर छ । यसपल्ट जे भयो, राम्रो भयो सरकार !
वेशै भयो सरकार, संविधानसभामा कुर्सी भाँच्नेहरूलाई मार्सल लगाएरै राजनीतिक कोर्स अघि बढाइयो । अब संविधान जारी गर्दा पनि मार्सल लगाउनुपर्छ । संविधानलाई जनतामा छलफलका लागि लैजाँदा पनि मार्सल लिएरै जानुपर्छ । संविधान लागू गराउँदा पनि मार्सल लगाउनुपर्छ । सरकार, आखिर सरकार हो, कमजोर हुनुहुँदैन । सरकारसँग स्रोत छ, साधन छ । प्रहरी–प्रशासन छ । यी सब प्रयोग गर्ने बेला यही हो । विरोधका स्वरहरूलाई निर्ममताका साथ दमन गर्ने उचित समय पनि यही नै हो । ठिक छ, यही बाटो हिडौं । यो बाटोमा कुनै खतरा छैन । यसले हामीलाई ठाउँमै पु¥याउँछ सरकार !

TAGS
RELATED POSTS

LEAVE A COMMENT

प्रवीण बानियाँ

प्रवीण बानियाँ व्यावसायिक पत्रकार हुन् । मूलधारका पत्रिकामा डेस्क सम्पादक भएर काम गरिसकेका उनी खोजमूलक समाचार, बायोग्राफी, फिचर र साहित्य लेखन तथा सम्पादनमा समेत दखल राख्छन् ।

सामाजिक सन्जाल
प्रवीणको फेसबुकमा जोडिनुहोस्
प्रवीणलाई ट्वीटरमा पछ्याउनुहोस्
प्रवीणका ट्वीटहरू
  • १ सय ३६ चराचुरुंगीको आवाज दुरुस्त निकाल्ने एक कविको कला र सिर्जनाको फरक पाटो । कवि जो चरा कराउँछ https://t.co/7GTtST10Wx

    Tweeted on 12:40 AM Sep 21

  • यहाँ- 'सधैं खुसी रहनू' भनेर शुभकामना दिनेको अभाव छैन, अभाव त अप्ठ्यारोमा साथ दिने मान्छेको छ !

    Tweeted on 09:55 AM Sep 12

  • अब देशमा बनाउन बाँकी समाचारको शीर्षक– प्रधानमन्त्रीले मन्त्रीको संख्यामा पूरा गरे अर्धशतक, टिम देउवा ऐतिहासिक जिततर्फ !

    Tweeted on 05:27 AM Sep 11

  • कसम ! विद्यासुन्दर शाक्यका ठाउँमा अरू (पार्टी) कोही मेयर हुन्थ्यो भने अहिलेसम्म केपी ओलीले 'उखान' सुनाएरै आधा ज्यान सुकाइदिन्थे !

    Tweeted on 02:12 AM Sep 09

  • दृश्य–१: परदेश जाँदा आमाबाबुले छोरालाई मुटुभरिको आशीर्वचन दिएथे ! दृश्य–२: छोराले वर्षौंपछि परदेशबाट गाउँमा वृद्धाश्रम खोल्न अनुदान पठायो !

    Tweeted on 07:07 AM Sep 08

  • टाढाबाट हेर्दा देखिने 'सुन्दरता' हो । नजिकैबाट हेर्‍यो भने अक्सर 'खराबी' देखिन्छ ।

    Tweeted on 10:46 PM Jul 27