फिचर

कवि जो चरा कराउँछ

By on September 20, 2017

–प्रवीण बानियाँ

धनकुटे कान्छा– गैरपण्डितहरूले जुराइदिएको नाम । आज उनका लागि यही ‘बोल्ड’ नाम भइसक्यो, वास्तविक नाम ‘ब्ल्याक एन्ड ह्वाइट’जस्तो लाग्छ । त्यसो त उनी पनि सकेसम्म अरूलाई आफ्नो खास नाम भन्न नपरे हुन्थ्योझैं गर्छन् । तैपनि, पंक्तिकारलाई दोस्रो स्रोतको मद्दतमा उनको नागरिकताको नाम खुलाउनुपरेको छ– शंकर चापागाईं, वर्ष ४० ।

पूर्वी पहाडी जिल्ला धनकुटा थातथलो भएका धनकुटेको परिवार ०३१ सालतिर झापाको दमक बसाइँ सर्यो । समयक्रमसँगै पछि फेरि पहाडै चढ्यो । त्यसयता कहिले कविता सुनाउन त कहिले चराको आवाज कराउने प्रयोजननिम्ति धनकुटेको धनकुटा–दमक ओहोरदोहोर बढ्दै गयो । धनकुटाबाट तराई झरेको र परिवारको कान्छो छोरो भएका आधारमा पण्डित साथीभाइले उनको न्वारन गरिदिए– धनकुटे कान्छा । आज बजारमा उनको नामसँग जुध्ने अर्को कुनै नाम छैन, उनी एक्ला छन् ।

०४३/४४ सालतिर २ कक्षामा पढ्दै गर्दा धनकुटेले पहिलोपटक चराको आवाज निकाले, भँगेराको । त्यसपछि उनलाई अरू चराचुरुंंगीको आवाज नक्कल गर्ने इच्छा बढ्यो । गाउँमा साँझ–बिहान गाईबस्तु चराउन र दाउराघाँस गर्न जंगल जाने उनले त्यहाँ सुनिने विभिन्न चराचुरुंंगीको आवाज कराउन थाले । ‘अन्ततः मेहनत खेर गएन,’ उनले सुनाए, ‘बिस्तारै सयौं चराचुरुंंगीको दुरुस्त आवाज निकाल्न सक्ने भएँ ।’

सुरु–सुरुमा विद्यालयमा सानातिना कार्यक्रममा चरा कराउने धनकुटेको दायरा बिस्तारै बढ्दै गयो । उनी गाउँबाट सहर निस्कन थाले । कविता सुनाउन मञ्चमा उक्लिँदा उनी बोनसमा चरा कराएर मनोरञ्जन दिन्थे, नेताहरूको भ्वाइस क्यारिकेचर गर्थे । ०४५/४६ सालको राजनीतिक आन्दोलनको समर्थनमा धनकुटेले जति कविता सुनाए, त्योभन्दा बढी चरा कराए । र, आन्दोलनमा सर्वसाधारणको उपस्थिति बढाउन मद्दत गरे ।

घरको आँगन नाघेर सामाजिक गतिविधिमा निस्कन थालेसँगै धनकुटेको घरमा बास हुन छाड्यो । उनी स्कुल हापेर सभा–सम्मेनलतिर धाउन थाले । अब भने परिवारलाई चिन्ता लाग्न थाल्यो– छोरो बिग्रिने भयो ।

हुन पनि हो– धनकुटे कविता सुनाउन, चरा कराउन जसले जहाँ बोलायो त्यहीं पुग्थे । तर, त्यसबाट तालीबाहेक उनी केही पाउँदैनथिए । ‘त्यसबेला आन्दोलनमा चरा कराउँदै, कविता सुनाउँदै खुब हिँडियो,’ उनी विगत सम्झिन्छन्, ‘सभा–सम्मलेन र आन्दोलनमा मलाई सबैले प्रयोग गर्थे ।’

०५४ सालमा एउटा मासिक पत्रिकाबाट धनकुटे पहिलोपटक ‘चराचुरुंंगीको आवाज निकाल्ने’ व्यक्तिका रूपमा राष्ट्रियस्तरमा सार्वजनिक भए । त्यसो त नेपालमा पहिलोपटक चराको आवाज निकाल्ने व्यक्ति आफू भएको उनको दाबी छ । तर, गौतम सापकोटालाई नेपालमा पहिलोपटक चरा कराउने व्यक्तिको रूपमा लिइन्छ ।

जे होस्, धनकुटेले पनि ‘गड गिफ्ट’ पाएका छन् । एउटा व्यक्तिले १ सय २६ वटा चराचुरुंंगीको आवाज दुरुंस्त निकाल्न सक्नु चानचुने कुरा होइन । यसलाई प्रकृतिको अनुपम उपहार मान्दिँदा हुन्छ ।

‘त्यसबेला आन्दोलनमा चरा कराउँदै, कविता सुनाउँदै खुब हिँडियो,’ धनकुटे सम्झिन्छन्, ‘सभा–सम्मलेन र आन्दोलनमा मलाई सबैले प्रयोग गर्थे ।’

धनकुटे आफूलाई सानोतिनो चराविशेषज्ञ नै मान्छन् । उनीसँग नेपालमा पाइने अधिकांश चराचुरुंंगीबारे ज्ञान छ, तिनीहरूको स्वभाव उनले बुझेका छन् । चराचुरुंंगी र मानिसबीचको अन्तरनिहित संवेदनालाई उनी अनुभूत गर्न सक्छन् । यद्यपि, नेपालमा चराचुरुंंगीबारे अध्ययन तथा अनुसन्धान गर्न पर्याप्त स्रोत तथा सामग्री नरहेको उनी बताउँछन् ।

समकालीन कविताको क्षेत्रमा एक सशक्त कविको समेत पहिचान बनाएका धनकुटे अहिले दमकमा केही निजी विद्यालयमा पार्ट टाइम शिक्षकको रूपमा केही पढाउँछन् । मुडमा चरा कराएर विद्यार्थीलाई रचनात्मक कार्यमा लाग्न उत्प्रेरणा दिन्छन् । कहिलेकाहीं विभिन्न सार्वजनिक कार्यक्रमहरूमा प्रस्तुति दिन उनलाई बोलाइन्छ । सक्दा र भ्याउँदा उनी बोलाएका ठाउँमा पुग्छन् । र, मनोरञ्जन दिन्छन् । त्यसबापत केही थान हजारका सुकिला नोट उनको हात पार्छन् ।

८ सय ८५ प्रजातिका चरा पाइने नेपालमा चरा पर्यटनको उच्च सम्भावना देख्छन्, धनकुटे । तर, सरकारी योजना र तदारुकता नहुँदा त्यसनिम्ति आजसम्म उल्लेख्य काम भएको पाइँदैन । देशमा आकलझुकल हुने चरा महोत्सव, एकाध अध्ययन तथा अनुसन्धान पनि निष्प्रभावी बनेका छन् । सरकारले आफूहरूजस्ता व्यक्तिलाई निश्चित कार्यक्रम बनाएर चरा पर्यटन प्रवद्र्धनमा लगाउने हो भने नेपाल चरा पर्यटनका लागि नयाँ गन्तव्य बन्ने उनको भनाइ छ ।

‘हामी चरा पर्यटनको क्षेत्रमा धेरै काम गर्न सक्छौं,’ उनी भन्छन्, ‘तर, राज्यले हामीलाई देख्दैन, हाम्रो कला चिन्दैन ।’

TAGS
RELATED POSTS
प्रवीण बानियाँ

प्रवीण बानियाँ व्यावसायिक पत्रकार हुन् । मूलधारका पत्रिकामा डेस्क सम्पादक भएर काम गरिसकेका उनी खोजमूलक समाचार, बायोग्राफी, फिचर र साहित्य लेखन तथा सम्पादनमा समेत दखल राख्छन् ।

सामाजिक सन्जाल
प्रवीणको फेसबुकमा जोडिनुहोस्
प्रवीणलाई ट्वीटरमा पछ्याउनुहोस्
प्रवीणका ट्वीटहरू
  • बाबुराम ब्रो पनि हेर्दाहेर्दै (अफिसियल रूपमा) 'एमाले' भए । एक वर्ष नयाँ शक्तिका नाममा व्यर्थै खेर फाले !

    Tweeted on 10:02 PM Oct 11

  • कसम ! विद्यासुन्दर शाक्यका ठाउँमा अरू (पार्टी) कोही मेयर हुन्थ्यो भने अहिलेसम्म केपी ओलीले 'उखान' सुनाएरै आधा ज्यान सुकाइदिन्थे !

    Tweeted on 02:12 AM Sep 09

  • दृश्य–१: परदेश जाँदा आमाबाबुले छोरालाई मुटुभरिको आशीर्वचन दिएथे ! दृश्य–२: छोराले वर्षौंपछि परदेशबाट गाउँमा वृद्धाश्रम खोल्न अनुदान पठायो !

    Tweeted on 07:07 AM Sep 08

  • टाढाबाट हेर्दा देखिने 'सुन्दरता' हो । नजिकैबाट हेर्‍यो भने अक्सर 'खराबी' देखिन्छ ।

    Tweeted on 10:46 PM Jul 27

  • दिवंगत कवि छोराको सम्झनामा ३५ वर्षदेखि निःशुल्क पुस्तकालय चलाएर बसेका एक 'अनपढ लाहुरे बाबु'को कथा ! My new piece @… https://t.co/mG8eDl355r

    Tweeted on 06:09 AM Mar 25

  • विराटनगरका तन्नेरी नाट्यकर्मीबारे #कान्तिपुर दैनिकको 'हेलो शुक्रबार' मा फिचर ! https://t.co/Kw1D3m4nhq

    Tweeted on 07:04 AM Feb 24